• ११ असोज २०८३, आइतबार
  • ०५:३८:१२

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

बागलुङमा बढ्यो स्थानीय केराकाे उत्पादन

बागलुङ । हरेक वर्ष भारतबाट बागलुङ भित्रिने केरा स्थानीय उत्पादनले प्रतिस्थापन गर्न थालेको छ। आयात रोकिएको एक वर्षमै बागलुङ बजार आसपासमा मात्रै त्यति मूल्य बराबरको केरा स्थानीय रूपमा उत्पादन हुन थालेको स्थानीय व्यवसायीले बताएका छन्। आयात रोकिएपछि किसानले केराखेती बढाउन थालेका छन्।

बागलुङ फलफूल तथा तरकारी बिक्रेता संघका अध्यक्ष गोपाल कँडेलका अनुसार भारतीय केराको आयात रोकिएपछि स्थानीय किसानले उत्पादन बढाएका हुन्। उनका अनुसार बागलुङ बजारमा मात्रै हरेक महिना ३० लाख रुपैयाँको केरा आयात हुँदै आएकामा अहिले त्यो पूर्ण रूपमा ठप्प छ। भारतीय केराको स्थान अहिले स्थानीय केराले लिन थालेको उनले बताए।

‘पहिलाको जस्तो पर्याप्त पुगिसकेको त छैन, तर स्थानीय केराको उत्पादन बढिरहेको छ,’ उनले भने, ‘एक–दुई वर्षमा करोडौंको केरा यहीँ उत्पादन हुन्छ।’ वार्षिक ५ करोड रुपैयाँभन्दा बढी मूल्यको भारतीय केरा आयात हुँदै आएको बागलुङमा अहिले किसानले त्यसलाई विस्थापनको अवस्थामा पुर्‍याएको कँडेलको भनाइ छ।

सामान्य रूपमा खेती गरिरहेका बागलुङ नगरपालिका–३ गौंडाकोटका नारायण पौडेलले आयात रोकिएपछि केराको उत्पादन बढाएका छन्। उनका छिमेकी अनिष शर्माले पछिल्लो समय बाँझिएको खेतबारीमा केराखेती विस्तार गरेर केरावारी बनाएका छन्। उनीहरूको घरमै पुगेर स्थानीय व्यवसायीले केरा खरिद गर्छन्। केरा सहजै बिक्री हुने नगदेबालीका रूपमा विकास भएको छ।

जैमिनी नगरपालिका–१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले भएभरको जमिनमा केरा रोपेर व्यावसायिक खेती गरिरहेका छन्। उनको बारीमा अहिले १२ हजारभन्दा बढी केराका बोट हुर्किरहेका छन्। वडाध्यक्ष हुनुअघि पनि उनी व्यावसायिक किसान थिए। आगामी दिनमा पनि केराको व्यवसाय गर्ने उनको लक्ष्य छ। उनकै छिमेकी मोतीप्रसाद पौडेलले वर्षमा ५ लाख रुपैयाँभन्दा बढीको केरा बेचेर कमाउने गरेको बताए। 

उता, जैमिनी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘सेरा जाउँ, केरा खाउँ’ भन्ने अभियान नै चलाएको छ। यो अभियानपछि हरेक घरले व्यावसायिक केराखेती थालेका छन्। नगरपालिका र कृषि विकास कार्यालयले केरा उत्पादन गर्ने किसानका लागि अनुदानको व्यवस्थासमेत गरेका छन्।

यो अभियानले आगामी वर्ष नै भारतीय केराको आयात बराबर स्थानीय उत्पादन पुर्‍याउने सम्भावना देखिएको अर्का व्यवसायी मधु केसीले बताए। गर्मी मौसमको माग अझै पूरा नभएकाले चितवन र झापादेखि केरा आइरहेको छ। जाडो मौसममा भने माग पनि कम हुने भएकाले स्थानीय केराले नै पुग्ने अवस्था रहेको केसी बताउँछन्।

जैमिनी नगरपालिकासहित बागलुङ नगर क्षेत्रका विभिन्न वडामा विस्तार गरिएको केराले पर्याप्त उत्पादन दिन थालेपछि चितवन र झापाको केरा पनि ल्याउन नपर्ने उनको दाबी छ। ‘किसानहरू यति धेरै उत्साही भएका छन् कि अब केराखेती गरेर पनि पर्याप्त कमाइ गर्न सकिन्छ भन्नेमा पुगे,’ केसीले भने, ‘स्थानीय केरा निकै स्वादिलो र लामो समयसम्म नबिग्रने खालको छ।’

गत वर्षदेखि भारतीय केराको आयात रोकिएको थियो। आयात रोकिँदा केही समय स्थानीय उत्पादन कम भएकाले मूल्य अत्यधिक चर्किएको थियो। अहिले भने बिस्तारै केराको मूल्य पनि समायोजन भइरहेको छ। अहिले बागलुङ बजारमा प्रतिदर्जन १ सय ७० देखि २ सय रुपैयाँसम्ममा केरा पाइन्छ। कालीगण्डकी करिडोरको आसपास पर्ने जैमिनी नगरपालिका–१, ५, ६, ७ र ८ का किसानले केराखेती बढाएका छन्।

कृषि विकास कार्यालयले पनि ती क्षेत्रमा केराखेती बढाउन किसानलाई अनुदानको कार्यक्रम ल्याएको कार्यालयकी कृषि अर्थविज्ञ प्रतिभा शर्माले बताइन्। शर्माका अनुसार बागलुङ र जैमिनी स्थानीय केराका लागि उर्वर भूमि हुन्। कार्यालयले किसानलाई प्राविधिक सहयोग गर्दै आएको उनले बताइन्।

बागलुङको १ हजार २ सयदेखि १ हजार ५ सय मिटर उचाइसम्म स्थानीय प्रजातिको केरा उत्पादन भइरहेको उनले बताइन्। बागलुङ नगरपालिका–१, ३, ४, ८, ९ र १० मा पनि केराखेती प्रशस्त भएको उनको भनाइ छ।

जैमिनी नगरपालिका–१ को फलाँटे कृषि सहकारी संस्थाले हरेक सेयर सदस्यलाई कृषिमा लाग्न प्रेरित गर्दै केराखेती अनिवार्य गर्न आवश्यक तालिम र प्रविधिसमेत हस्तान्तरण गरेको उनले बताए। यो सहकारीका मात्रै झण्डै एक सय जना किसान व्यावसायिक केराखेतीमा जोडिएका छन्। हरेक किसानको घरमा १ सयदेखि १ हजारभन्दा बढी केराका बोट छन्।

उनीहरूमध्ये अधिकांशले वर्षमा ५० हजारदेखि ४ लाख रुपैयाँसम्म केरा बेचेरै कमाउने गरेको तथ्यांक छ। समुद्री सतहबाट ६ सय मिटर मात्रै उचाइ रहेको जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान बनेका छन्। गत वर्ष बागलुङको ४२ हेक्टर जमिनमा व्यावसायिक केराखेती गरिएकोमा भारतीय केरा आयात रोकिएपछि यो संख्या ५० हेक्टरमा विस्तार भइसकेको छ।

एक वर्षमा यो क्षेत्र दोब्बर बन्ने शर्माले जानकारी दिइन्। गत वर्षसम्म वार्षिक २ सय ४५ मेट्रिक टन केरा उत्पादन भएकोमा यो वर्ष ३ सय मेट्रिक टनभन्दा बढी भइसकेको छ भने आगामी वर्ष दोब्बर बन्न सक्ने उनको अनुमान छ। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑