• १० असोज २०८३, शनिबार
  • ०३:५३:१८

Now:

Next: शुभारम्भ धुन

अकबरे खुर्सानीकाे पकेट क्षेत्र बनाउन कसिदै गलकोटका महिला

हटिया । गलकोट नगरपालिका वडा नम्वर ७ सिर्जनशील आमा समूहका सदस्यहरू यतिबेला अकबरे खुर्सानी टिप्न व्यस्त छन् । वैशाख महिनामा रोपिएको अकबरेबाट पहिलो लटको उत्पादन टिप्न सुरु गरेको सिर्जनशील आमा समूहका अध्यक्ष सरस्वती थापाले बताउनुभयो ।

नगरपालिकाको अकबरे खुर्सानी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत मल्म बहुउदेश्यीय सहकारी सस्था मार्फत कार्यक्रम ल्याई आमासमूह मार्फत अकबरे खुर्सानी खेती सुरु गरेको थापाले बताउनुभयो । वैशाख महिनाको अन्त्यतिर आगाखेत र साहानीडाँडामा रहेको २० रोपनी जग्गामा सिर्जनशिल आमासमूह र मिलिजुलि आमासमूहले ३२ हजार अकबरेका खुर्सानी बिरुवा रोपेको थियो ।

समूहले अहिले पहिलो लटका ६ क्विन्टलभन्दा बढी खुर्सानी टिपेर प्रतिकिलो ३ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । स्थानीय हटिया बजार र आसपासका गाउँमा अकबरे बिक्री भइरहेको थापाले बताउनुभयो । पालिकामार्फत मेसिनरी सामानमा ५० प्रतिशत तथा बिरुवा र मलमा ८० प्रतिशत अनुदान पाएको समूहले जम्मा करिब ८ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ ।

समूहका सदस्यमध्ये इच्छुक १५ जना सदस्य अकबरे खेतीमा सहभागी भएका छन् । बिरुवा रोप्ने, गोडमेल गर्ने, मल हाल्नेदेखि खुर्सानी टिप्नेसम्मका सबै काम समूहका सदस्यहरूले मिलेर गरेका छन् । अकबरे बिक्रीबाट भएको आम्दानी फेरि खेतीमै लगानी गर्ने र अकबरे खुर्सानीको पकेट क्षेत्र बनाउने योजना रहेको थापाले बताउनुभयो । 

गलकोट नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा गलकोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष राजबहादुर थापाका अनुसार, अकबरे खुर्सानी पकेट क्षेत्र कार्यक्रमका लागि गत आर्थिक वर्षमा आठ लाख रुपैयाँ बजेट विनियोजन गरी मल्म बहुउदेश्यीय सहकारीमार्फत दुईवटा आमा समूहबाट खेती सुरु गरिएको थियो ।

कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न चालु आर्थिक वर्षमा पनि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । बिरुवा रोप्ने बेला सामान्य तालिम पाएका समूहका सदस्यहरुले स्थानीय तहबाट थप तालिम र बजार व्यवस्थापनको अपेक्षा समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑