अविरल वर्षाले बागलुङ गुल्मीका ठाँउ ठाँउका सडक अवरुद्ध
खर्वाङ । अविरल वर्षाका कारण ठाडोखोलामा आएको निसीखोला–४ स्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण बागलुङ–बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका ४ कानाबजार नजिक ठाडाखोलामा शाखा सडकका कारण लेदो सहितको बाढीले लोमार्ग आज साँझबाट अवरुद्ध बनाएको स्थानीय मिलन हमालले जानकारी दिनुभयो ।
निसीखोला गाउँपालिकाको अध्यक्ष सुर्य घर्ती मगरले सडककोे लेदो पन्छाउन सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भएपनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको जानकारी दिनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना अझै रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै विपद्मा आवश्यक एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा ठूला उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।
यसैविच अविरल वर्षाका कारण गुल्मी जिल्लाभर बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, गुल्मीले अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाएको छ। सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा सवारी सञ्चालन र सर्वसाधारणको अनावश्यक हिँडडुलमा नियन्त्रण गर्ने निर्णय गरेको हो।
प्रशासकीय अधिकृत कमल सेन ओलीद्वारा जारी सूचना अनुसार असोज ९ गतेदेखि असोज १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा प्रयोग हुने बाहेकका अन्य सम्पूर्ण सवारी साधन सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
यस्तै गुल्मीमा कालिगण्डकी करिडोरसहित शाखा सडक अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण कालिगण्डकी करिडोर बुधबार रातिदेखि अवरुद्ध रहेको छ । कालिगण्डकी गाउँपालिका–२, अर्वेनीको राक्सेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद थापा मगरले जानकारी दिनुभयो ।
वर्षा भइरहेकाले काम गर्न नसकिएको अध्यक्ष मगरले बताउनुभयो । वैकल्पिक रुपमा पुर्तिघाट–फोक्सिङ्ग–शान्तिपुर र स्याङ्जाको बिहादी–वालिङ्ग सडक प्रयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै मदाने गाउँपालिका–४ , बाँझकटेरीमा पहिरो खस्दा सालझण्डी–ढोरपाटन सडक बिहानबाट अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भिम किरण बोगटीले नदीमा पानीको बहाब बढ्ने र पहिरो खस्न थालेपछि अधिकांश स्थानबाट गाडी नछुटेको बताउनुभयो ।
यता चन्द्रकोट गाउँपालिका ७ को सिस्नेभिरमा पनि सडक माथिबाट पहिरो खसेपछि रुद्रबेनी वामीटक्सार खर्वाङ सडक पुर्ण रुपमा अबरुद्ध भएको छ


रेडियो सारथी
प्रतिकृया दिनुहोस