• २३ मङ्सिर २०८१, आइतबार
  • ११:४०:३६

Now: सिने संसार

Next: नेपाल खवर

खजुरबोटे साहिलोकाे कतार यात्रा

समाजिक क्षेत्रमा केही गर्नुपर्ने उदेश्यका साथ शैक्षिक ब्याक्तित्वहरुको अगुवाईमा २०५४ साल मङ्गसिर -पुस-देखि आफ्नै गाउँमा शिक्षाको दियो जलाउदै स-साना बालबालिकाहरुको लागि अंग्रेज़ी माध्यमबाट शिक्षण गराइने कोचिङ्ग सेन्टर स्थापना गरिएको थियो ।

बालबालिकाहरु बाट अत्यन्तै न्युनतम शुल्क लिएर ३ जना शिक्षक/शिक्षिकालाई मासिक ८०० र १०००/- रुपैयाँ तलबभत्ताको ब्यबस्था सहित केही समय पठनपाठन गराइएको उक्त कोचिङ्ग सेन्टरमा बिद्यार्थीहरुमा देखिएको प्रगती विवरण, शैक्षिक धरोहर, अभिभाबको चाहना र सक्रियता संगै शिक्षक स्टाफहरुको मिहिनेतका कारण सस्था बोडिङ्ग स्कुलमा रुपान्तरण भयो ।

२०५४ सालको मङ्गसिर महिनामा बुवाको देहावसान पछि व्यबहारिक जिम्मेवारी संगै भोदुरामलाई घरमै बस्नुपर्ने बाध्यात्मक अबस्था र एस एल सि उर्तिण सर्टिफिकेटको आधारमा उक्त शैक्षिक सस्थामा शिक्षक हुने अबसर मिल्यो । करिब १० बर्ष सस्थापक सेयर सदस्य र शिक्षकको हैसियतले काम गर्यो ।

गाउँघरको बोडिङ्ग स्कुलमा विद्यार्थी संख्या (१२०-१३०) उल्लेख्य नै थियो। समाज रुपान्तरणका लागी जीबनको उर्जासिल केहि समय गाउँ समाजमा खर्चिएको युबा कुनै पेशा ब्यबसायमा जोडिनुपर्थ्यो । संयुक्त परिवार र समाजिक कार्यको संतुलन मिलाउन सहज थिएन ।

स्वभाबिक रूपमा जिउनको लागि केही बोल्ड निर्णय गर्नुपर्ने बिडम्बना ढिलाइ भएको कारण परिवार/छरछिमेकी र समाजले हेर्ने दृस्ठिकोण फरक हुन्थ्यो । कहिलेकाही सामाजिक ब्याक्तित्व र परिवारका सदस्यहरुको ब्याङ्गय प्रहारले मन भाबुक हुने गर्दथ्यो । समयको गति संगै दिन उमेर बढदै गयो ।

बिबाहको बन्धन देखि बालबच्चाहरुको आगमनले जिम्मेवारी थपिदै थियो । बालसखाका संघी साथिहरु कोहि सरकारी जागिरे थिए । कोहि आर्मिमा भर्ती भएर ९/१० बर्स सेवा गरेको फुर्ती लाउथे भने कोहि वैदेशिक रोजगारिको सिलसिलामा बिभिन्न मुलुक पुगेर आय आर्जनको जोहो गर्दै थिए ।

घर परिवार देखि टोल छिमेकिको गुनासाहरुलाई अनुसरण गर्दै २०६४ सालको मङ्गसिर तिर गाउले सादा जीवन बिताइरहेको भोदुराम पहिलो पटक वैदेशिक रोजगारीमा जानुपर्ने सोचका साथ शिक्षक आन्दोलनका भाइरल गुरु होमनाथ न्यौपानेको जस्तै च्यात्तिएको झोला भित्र पासपोर्ट राखेर राजधानी तर्फ लाग्यो ।

गाउँले परिबेश भन्दा त्यो शहर फरक थियो । राजधानीमा भएका साथि भाइको माध्यमबाट काठमाडौको अनामनगरमा अबस्थित ABC म्युजिक प्राली संगैको सम्पर्क कार्यालयमा एजेन्ट संग सामान्य छलफल पश्चात् पासपोर्ट र अन्य कागजपत्र बुझाएर एकलाख रुपैयाँको लगानीमा कतारको प्रतिष्ठित सरकारी अस्पताल हमाद हस्पिटलमा Tanzifco कम्पनी मार्फत सफाई कर्मचारिको रुपमा जाने सहमति बन्यो ।

जस्को लागि माइतीघरमा रहेको ग्वालिभेन्ट मेनपावरमा अन्तरबार्ता सहित तिनदिने प्रशिक्षण थियो । बोडिङ्ग स्कुलमा झन्डै १० बर्स शिक्षण पेशामा आबद्ध भएको भोदु ठुटे अंग्रेज़ी बोल्ने हैसियतमा थियो  ।त्यसैले अन्तरबार्ता सजिलै पास गर्यो । मेडिकलको रिपोर्ट खास्सा आएपछि एक डेढ महिना भित्र काम हुने र ढेउवाको बन्दोबस्त गर्नुपर्ने एजेन्टको निर्देशन अनुसार केही दिनको शहर बसाइँ छोडेर गाउँ फर्कियो ।

राजधानीबाट गाउँ फर्किदा भोदुराम बिदेश गयो भन्ने हल्ला ब्यापक थियो । एकमहिना पछि एजेन्टले फोन मार्फत ढेउवाको ब्यबस्था बारे सोधपुछ गरिरहन्थ्यो । भिसा खसेको खबर प्राप्त भएपछि ऋण धन गरि ढेउवा भुग्तानी गर्यो । भुक्तानीको केही दिनपछि परिवार संग बिदाईको टिकोटाला गरि राजधानी झर्यो ।

बिदेश उडानको प्रतीक्षामा झन्डै दुइ महिना काठमाडौमै बस्नुपर्‍यो । बिहानको भोजन पस्चात म्युजिक प्रालिका साथिहरु संग कार्यालयमा घाम ताप्ने, चिया पिउने, दैलामारा(दैला पकड) र कलब्रेक खेल्ने दिनचर्या बन्यो ।

त्यो दैनिकी देखि आजित भएर रत्नपार्क (रङ्गिन पार्क)मा दिनभर संसारका रङ्गिन मानिसहरु हेर्दै मुकुन्द ल्यान्डका नाइके मुकुन्द घिमिरेको भासण सुन्ने काम भयो । २०६४ सालमा पहिलो संविधान सभाको चुनाबी माहौल तातेको थियो । ०४७ सालको अंतरिम संविधानलाई बेवास्ता गर्दै संविधान सभाको चुनाब हुनुपर्छ भन्ने आफ्नो पार्टीको राजनैतिक प्रशिक्षण भोदुरामले फ्याट्ट सम्झियो ।

त्यसैले पहिलो सम्बिधान सभाको ऐतिहासिक निर्बाचनमा मताधिकारको चाहना र गुल्मी क्षेत्र नम्बर ३ बाट लोकप्रीय युबा नेता गोकर्ण बिस्टको उम्मेदवारीले पुनःघर फर्किने बिचार गर्यो । चुनावी सरगर्मिका कारण उडानमा केहिदिन ढिलाइ हुने एजेन्टको भनाइ अनुसार चैत्र २६ गते काठमाडौ देखि तम्घासको यात्रामा लाग्यो ।२ ७ गते बिहान ७ बजे फुत्त तम्घास झर्यो ।

तम्घास देखि गाउँ सम्म पैदल जानुपर्थ्यो । वैदेशिक रोजगारीको लागि बोरि बिस्तरा सहित बिदाई भएको छोरा २ महिना भित्रै पुनः गाउँ फर्किनुपर्ने अवस्था सोचनिय थियो । त्यसैले दिनभर निस्ती खोलामा बरालिएर साझपख घर पुग्ने निर्णय भयो । सुर्यास्त पछिको समय बाङ्गेको धुरिबाट आफ्नो गाउँ घुरेर हेर्यो ।

अँध्यारो बादल मडारिदै सुनसान भएको अबस्थामा बिस्तारै ओरालो झरेर घरमा पुग्दा परिवार झस्किए । परिवारका केही सदस्यहरु लाहुरे आयो भन्दै शब्दबाण प्रहार गर्दै थिए भने आमा र जीवन संगीनि अलिक निराश मुद्रामा देखिन्थे ।

बिहान उठेर एमाले र राजमोका गाउले शुभचिन्तकहरु बिच चुनाब केन्द्रित छलफल अनुसार प्रत्यक्षमा सुर्य चिन्ह र समानुपातिक तर्फ गिलासमा भोट दिने भद्र सहमति बन्यो ।बिडम्बना भोदुरामको भोटरलिस्टमा नाउँ थिएन । चुनाव शान्तिपुर्ण सम्पन्न भयो । भोलिपल्ट बिहानै तम्घास झरेर नतिजाको पर्खाइमा राती अबेर सम्म बस्यो ।

तर नतिजा फरक आएपछि अर्को दिन काठमाडौ फर्कियो । अन्ततः २०६५ बैशाख २ गते कतार उड्यो । सन २००८ मा कतार चरम बिकाशको गतिमा थियो । त्यो उजाड मरुभूमि हरियाली भैसकेको थियो । हमाद हस्पिटल कार्यक्षेत्र भए पनि बसाइँ सनैया औद्योगिक क्षेत्र ४३ मा थियो ।

झन्डै २०० फिलिपिनो, इन्डियन, नेपालि र श्रीलंकन गरि ३०० को हाराहारीमा महिला सहकर्मीहरु थिए । महिला पुरुषहरूको क्याम्प फरक फरक थियो । जादा आउदा र कार्यस्थल संगसङै हुन्थ्यो । अरेबिएन मुलुकहरु खासगरी सौदी/कतार र कुबैतमा महिलाहरुको चेहरा देख्न नपाइने तत्कालीन अबस्थामा महिलाहरु संगै काम गर्न पाउँदा स्वभाबिक रुपमा खुशी लाग्थ्यो ।

डबल बेड वाला पलङ्गमा भर्याङ्ग हुँदै सुतेको अनुभव संगै दिनहरू बितिरहेका थिए । खानापिन मेसमा समय तालिका अनुसार हुन्थ्यो । ८ घन्टा Duty र यातायात सहित झन्डै ११/१२ घन्टा समय जान्थ्यो । बिहीवारको राती झुम्मा रात भन्ने गरिन्थ्यो ।

शुक्रबार सरकारी बिदा हुने हुदा बिहिवार राती अबेरसम्म मदिरापान गर्ने नेपाली दाजुभाइहरुको चलन थियो । ब्रान्डेड मदिरा सिमित ब्याक्तित्वले मात्रै हासिल गर्थे । मासिक तलबभत्ता ५०००/- पाँच हजार रियाल हुनेहरुले सेलरी सर्टिफिकेटको आधारमा कार्ड बनाई संबंधित क्षेत्रबाट तोकिएको शुल्कमा खरिद गर्नुपर्ने ब्यबस्था भएको सुन्न पाइन्थ्यो ।

भुइँ मान्छेहरुका लागि लोक्कल ब्रान्डका मदिराहरु: लुमा/खजुरबोटे/सिलानी/नेपाली र भियतनामी आदि इत्यादी नामाकरण गरिएको थियो । औद्योगिक क्षेत्रमा धमाधम लेबर क्याम्पहरु निर्माणाधीन अबस्थामा रहेको हुदा खाली बगरमा ढुङ्गा र बालुवाको ठुला ठुला पाहाडहरु डम्पिङ्ग गरिएको थियो ।

कम्पनी निबास भन्दा बाहिरको सुनसान दृश्य र मधुर प्रकाश भएकोले झुम्मा रातको दिन बेलुकी मदिरापान गर्नेहरुको लागि खुल्ला क्षितिज मुनि मेला लाग्ने गर्थ्यो । अझै जुनेली रातमा मेलाको रौनक शानदार देखिन्थ्यो । फ्राइ चिकन/पोट कलेजी/आन्द्रा भुँडी र चना अन्डा सहित माथी उल्लेखित ब्रान्डका मदिरा बेच्नेहरु थुप्रै भेटिन्थे ।

आ-आफ्ना साथी संग गफ्फिदै प्लास्टिकका गिलासमा पेयपदार्थ कोक/फेन्टा/पेप्सि र सोडाको मिस्रण तथा चखना संगै मदिराको चुस्की लगाइरहेका हुन्थे । त्यो दृश्यले स्वदेशमै कुनै मेलामा सरिक भएको महसुस हुन्थ्यो ।

झुम्माको दिन दोहा कतारको तलवार गेटमा नेपालीहरु भेला हुने, DVD प्लेयरका लागि विभिन्न रङ्गिन फिल्मका डबिङ्ग गरिएका चक्का देखि सुर्तीजन्य पदार्थ झोले ब्यापारिहरु संग खरिदबिक्री हुन्थ्यो भने औद्योगिक क्षेत्रमा दिउँसो ३/४ बजेदेखि नेपाली र बङ्गाली मुलका नागरिकहरु जम्मा भएर डाइस (लङुरबुर्जा/खोरखोरे) खेल्ने गर्दथे ।

केही खेलप्रेमी साथिहरु बगरमा झुला(जाली) टागेर भलिबल खेल्ने गर्दथे । कानुनी रुपमा बर्जित डाइस (खेल्न/खेलाउन) मदिरा र सुर्तीजन्य पदार्थको सेवन गर्न नेपाली युबा अग्रपंक्तिमा हुन्थे ।

सन २००८ देखि २०१३ सम्मको कतार बसाइँमा खजुरबोटे साथिहरुको समूह जस्ले प्रदेशमा रहेर पनि एउटै परिवारको भुमिकामा अनेकौं कठिनाइको सामना गर्दै जिउन र पिउन मात्रै होइन मनोरंजनको लागि पनि साथ समर्थन गर्थे । सबै लोपोन्मुख अबस्थामा रहेका साहिलाहरु र खजुरबोटे साथिहरुको सम्झना अबिस्मरणिय रह्यो ।

खाडी मुलुकहरू जस्ले अन्य देशका लाखौं लाख युबा जनशक्तिलाइ रोजिरोटिको अबसर उपलब्धताको लागि उच्च संमान गर्दै भरुभुमिको देशमा उत्पादन हुने अत्यन्तै स्वादिलो फल खजुर (Date ),५४/५५ डिग्री तापक्रममा ओत लाग्ने शितल छहारी खजुरको रुख,उक्त देशको माटो र नागरिक संग आत्मिय र भाबनात्मक सम्बन्ध भएकोले भोदुराम पुनः सन २०१७ देखि निरन्तर दुख सुख संग पैठेजोरी खेल्दै खाडी मुलुक कुबैतमा रमाइरहेको छ । त्यसैले उ आफूलाई "खजुरबोटे साइलो" भन्न रुचाउछ।


गोपाल गिरि "खजुरबोटे साहिलो" मुसिकोट नगरपालिका १,पौदी अरेवा गुल्मी ।
हाल कुबैत ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै