• २३ माघ २०८१, बुधबार
  • १०:२७:४६

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

महेन्द्र आदर्श नमुना माविको ६६ औँ बार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

गुल्मी । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका–७, वामीटक्सार गुल्मीको ६६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयले पौष २४ गतदेखि आन्तरिक प्रतियोगीता तथा विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।

शुक्रवार सम्पन्न समापन समारोहमा राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले आफुले अध्ययन गरेको विद्यालय जिल्लामै अग्रणी विद्यालयको रुपमा स्थापित भएको देख्दा खुसी लागेको बताउनुभयो ।

उहाँले विद्यालयको सर्वागींण विकासका लागि सबै पक्षको साथ आवश्यक रहेको भन्दै आफ्‌नो तर्फबाट पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । विशिष्ट अतिथि मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले मुसिकोट नगरपालिकाकै एक मात्र नमुना विद्यालयको रुपमा रहेको विद्यालयलाई अझै नमुना रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो ।

उहाँले नगरपालिकाले अध्ययन अध्यापनसंगै नृत्य शिक्षक राखेर नृत्य कक्षाहरु सञ्चालन गर्दै आईरहेको र भावी दिनमा खेल शिक्षक पनि राख्ने तयारी भईरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविराम शर्माले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै वि.स. २०१६ सालमा महेन्द्र मिडिल स्कुलको रुपमा स्थापित विद्यालय हाल कक्षा १२ सम्म नेपाली र अग्रेंजी दुवै माध्यममा अध्यापन हुँदै आएको बताउनुभयो । त्यस्तै कक्षा ९–१२ मा प्राविधिक धार तर्फ सिभिल ईन्जिनियरिङ पढाई समेत सञ्चालन भईरहेको छ ।

विद्यालयका ७ वटा भवनमा दैनिक ३० वटा कक्षा नियमित सञ्चालन भईरहेको भन्दै उहाँले ५३ जना शिक्षक कर्मचारी र १ हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएको बताउनुभयो ।

प्रधानाध्यापक शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयले हालसम्म ३ वटा धनधान्याञ्चल सम्पन्न गरेको र पछिल्लो समयको धान्यान्चलबाट १ करोड भन्दा बढी रकम उठन् नसक्दा विद्यालय विस्तारै आर्थिक समस्यामा पर्न थालेको बताउनुभयो । निजि स्रोतका शिक्षकहरुको तलब भत्ताका लागि मात्रै विद्यालयले बार्षिक झण्डै २० लाख भन्दा बढी खर्च गर्नुपरिरहेको उहाँको भनाई थियो ।

यसै वर्ष विद्यालयले प्रशासनिक भवन निर्माण सम्पन्न गरीसकेको भन्दै उहाँले विद्यालयले आगामी दिनमा विज्ञान विषयको अध्यापन सुरु गर्ने र विद्यार्थी तथा अभिभावकहरुका लागि उत्प्रेरणामूलक कक्षा सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु हरिनारायण सापकोटा, प्रकाश काफ्‌ले, जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा पाण्डे भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयले बार्षिकोत्सवको अवसर पारेर आफ्‌नो विषयमा शतप्रतिशत नतिजा निकाल्न सफल ९ जना शिक्षकहरुलाई सम्मान गरेको छ । जसमध्ये विद्यालयका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारी, शिक्षकहरु डिल्लीराज खरेल, विक्रम कार्की, शिला खराल, अच्यूत गिरी, धन काउचा, प्रशिक्षक सन्देश अधिकारी, श्रवण कापर र प्रविण अर्याल सम्मानित हुनुभएको छ ।

कार्यक्रमको अवसरमा अक्षयकोषदाता, चन्दादाता, पूर्व शिक्षक लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा वित्तिय उत्तरदायित्व अन्तर्गत प्रत्येक कक्षाकोठामा खानेपानी व्यवस्थापन, प्रिन्टर र दराज लगायत ७० हजार बराबरको सामाग्री सहयोग गर्ने राष्ट्रिय वाणिज्य बैंक र शाखा प्रमुख सुमन थापालाई सम्मानित गरिएको थियो ।

सो अवसरमा विभिन्न आन्तरिक प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत र अक्षयकोषको छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीको स्वागत मन्तव्य एवम् कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक धनपति खरेल र नि.मा.वि ईन्चार्ज रामचन्द्र सापकोटाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै