गण्डकी प्रदेशकाे ‘एक घर, एक धारा’ प्रभावकारी, बडिगाडमा याे वर्ष १६ याेजना
बागलुङ । गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएपछि ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब १० परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । प्रदेश सरकारले खानेपानीका लागि बागलुङमा बर्सेनी करोडौँ लगानी गर्दै आएको छ ।
गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा जिल्लाभरका आयोजनाका लागि १८ करोड ७७ लाख बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले जानकारी दिए । यो वर्ष जिल्लाका १० पालिकामा १३४ योजना परेका छन् ।
प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा २७, गलकोट नगरपालिकामा १४, जैमिनी नगरपालिकामा १०, ढोरपाटन नगरपालिकामा २०, निसीखोला गाउँपालिकामा आठ, तमानखोलामा छ, काठेखोलामा १४, ताराखोलामा १०, बडिगाड १६ र बरेङ गाउँपालिकामा नौ योजना परेका छन् ।
जिल्ला भर १४ हजार ८०० वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उनले दाबी गरे । ती धाराबाट ६४ हजार ४१० नागरिक लाभान्वित भएको प्रमुख पौडेलले बताए ।
निसीखोला गाउँपालिका-२ अर्नाकोटका स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरे । गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उनको भनाइ छ । टाढाबाट ल्याउनका लागि ठूलो बजेट लाग्ने भएकाले तीनै तहका सरकारले चासो नदिएको विकले बताए ।
प्रतिकृया दिनुहोस