बडिगाडमा एच.पि.भि खोप सुरु, १६ सयबढी किसोरीलाइ खोप लगाइने

खर्वाङ । बडिगाड गाउँपालिकामा एच.पि.भी. खोप अभियान सुरु भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्नका लागि देशैभर चलिरहेको अभियान अन्तरगत बडिगाड गाउँपालिकामा पनि खोप अभियान सुरु भएको हो ।
बडिगाड गाउँपालिकामा आइतवार देखि सुरुभएको अभियान फागुन ३ गते सम्म चल्ने बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भएको छ।
बडिगाडमा ३७ खोपकेन्द्रबाट १ हजार ६ सय १० जना किसोरीहरुलाई खोपलगाउने कार्यक्रम रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसिले जानकारी दिनुभयो। बडिगाडमा ७४ जना स्वयंसेवक तथा ३७ खोपकार्यकर्ता मार्फत खोप दिन लागिएको हो । आज पहिलो दिन १० वटै वडामा ११ खोपकेन्द्रबाट खोप सुरु गरिएको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसैविच एचपिभि खोप अभियानको सुभारम्भ तथा सन्देश प्रवाह कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले ढुक्क भएर खोप अभियानमा जोडिन सम्बद्ध सवैमा आह्वान गर्नुभएको छ । दैनिक ४ जना महिलाहरु पाठेघरको क्यान्सरका कारण मृत्यूवरण गर्नुपरेको भन्दै त्यसवाट जोगिन खोप अभियानमा सरिक हुनुपर्ने बताउनु भएको छ ।
त्रिभुवन मावि खर्वाङमा भएको सो कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेल, गल्कोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख विष्णु प्रसाद भुसाल, वडा नं. २ का कार्यवाहक अध्यक्ष विष्णु अर्याल लगाएत जनप्रतिनिधि, स्वास्थ्यकर्मि, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बडिगाड गाउँपालिका खोप समन्वय समितिको आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन हेल्थ असिस्टेन्ट पप्पु कुमार शाहले गर्नुभएको थियो । अभियानको पहिलो दिन आज ८ सय ३ जनालाई यो खोप लगाइएको जनस्वास्थ्य निरिक्षक हेम पुनले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस