• १३ बैशाख २०८२, शनिबार
  • १५:१६:१६

Now: लोकछहारी

Next: थाहा अपडेट

भूकम्पले उठीबास बनाएकाे गुल्मीका हरिप्रसाद र भारतालाई चटपटेले उकास्यो

गुल्मी । भूकम्पले घर बस्नै नमिल्ने गरी चर्कियो । गोठ भत्किँदा एक लैनोसहित दुई भैंसी मरे । ०७२ सालको भूकम्प सम्झिँदा पनि झसङ्ग हुन्छन्, धुर्कोट गाउँपालिका-७ वाग्ला खर्गेटाका हरिप्रसाद घिमिरे । 

०७२ वैशाख १२ मा गएको भूकम्पले घरगोठ र भैंसीमा क्षति मात्र होइन, घिमिरे परिवारलाई गाउँबाटै विस्थापित बनायो । पहिलो चरणको भूकम्प प्रभावित पुनःनिर्माणमा घिमिरेको घर परेन । घिमिरेसँग घरगोठ बनाउने र भैंसी किनेर पुरानै स्थितिमा फर्कने कुनै आर्थिक अवस्था थिएन । त्यसपछि दम्पती दुई छोरा बोकेर गाउँ छाड्न बाध्य भए ।

०७१ अघि भैरहवामा सिकेको काम हरिप्रसादको जीवनमा एक दीर्घकालीन पेसाका रुपमा आइपुग्यो । हरिप्रसाद र उनकी श्रीमती भारता घिमिरेले गुल्मी सदरमुकाम तम्घासमा ‘घिमिरे चटपट’ नामबाट चटपटे व्यापार थाले । ०७२ सालकै कात्तिक १२ मा सदरमुकाम तम्घास पसेका घिमिरे दम्पतीले सुरुबाटै चटपटे व्यापर थालेका हुन् ।

चटपटेमा राम्रै कमाइ हुने भएपछि सुरुवाती चरणमा एकठाउँमा हुने व्यापार पछि दुई ठाउँबाट गर्न थाले । उमेरले हरिप्रसाद ५० वर्ष पुगे । भारता ४५ वर्ष पुगिन् । उनीहरू बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म तम्घासको चिदीचौर खानीगाउँ निस्कने चोकमा बसेर चटपटे व्यापार गर्छन् ।

दैनिक हरिप्रसादले २ हजार र भारताले १ हजार ५ सय रुपैयाँको चटपटे बेच्छन् । जसबाट ३५ प्रतिशत हाराहारी आम्दानी हुने हरिप्रसादले बताए । थोरै लगानीबाट सुरु गर्न सकिने चटपटे व्यापरमा आफूहरूले २० हजार रुपैयाँमा तम्घासमा आएको र त्यसैबाट व्यापार सुरु गरेको हरिप्रसाद बताउँछन् ।

‘भूकम्पले उठीबास लगाएपछि चटपटे व्यापर रोज्यौं,’ उनले भने, ‘हाम्रा लागि यो व्यापार सन्तोषजनक नै छ ।’ उनले आफ्नो ऋण तिर्न, छोराहरूको अध्ययन र घरखर्च राम्रैसँग पुगेको बताए ।

हरिप्रसादको ३ लाख ऋण थियो । उनी २०७१ मा वैदेशिक रोजगारका लागि कतार गएका थिए । कम्पनी राम्रो नपरेपछि १५ महिनामै फर्कनुपरेको थियो । त्यतिबेलाको उक्त ऋण, घर पुनःनिर्माण गर्दाको ३ लाख ऋण र तम्घास आउँदाको २० हजार ऋण चटपटे व्यापारबाटै तिरे ।

पहिलोपटक घर भूकम्प पुनःनिर्माणमा नपरे पनि पछि त्यसको छनोट भएपछि ३ लाख सहयोग आएको र आफूले ३ लाख थपेर गाउँमै घर बनाएको उनले बताए । एक छोरा माध्यमिक शिक्षासम्मको अध्ययन पूरा गरेपछि वैदेशिक रोजगारीका लागि बाहिर छन् । अर्को छोरा कक्षा १२ मा सिभिल इन्जिनियरिङ पढिरहेका छन् ।

घिमिरे दम्पती तम्घास मिलनचोकमा बस्छन् । रेसुंगा नगरपालिकाले फुटपाथ व्यवसायीलाई स्थान तोकेपछि उनीहरू चिदीचौर खानीगाउँ निस्कने चोकमा बसेर व्यापर गर्छन् । डुलेर चटपटे बेच्दा छिटो र सहज रुपमा बिक्ने हरिप्रसादले बताए । ‘चटपटे व्यापारमा त्यस्तो अरु समस्या त छैन,’ उनले भने, ‘ग्राहक कुरेर बस्नुपर्छ, डुल्दा जस्तो सहज हुँदैन ।’

कोरोना महामारीबाट भएको लकडाउनअघि चटपटेबाट अझ राम्रो आम्दानी हुने गरेको घिमिरे दम्पतीको अनुभव छ । त्यसपछि भने विस्तारै व्यापारमा गिरावट आएको छ । जसका कारण आम्दानी पनि घट्दो छ । तर उनीहरू सन्तुष्ट छन् ।

‘व्यापार बिस्तारै कमी हुँदै गएको छ, चहलपहल नै घट्दो छ,’ हरिप्रसादले भने, ‘हामी सन्तुष्ट छौं, हामी आफैले रोजेको व्यवसाय आनन्द छ ।’ उनले समयमा सिकेको सीप अप्ठ्यारोमा काम लागेको बताए । ‘हामी सँगै बसेर एउटै व्यवसाय गरेका छौं,’ भारताले भनिन्, ‘कमाइ थोरैधेरै भए पनि सन्तुष्ट नै छौं ।’

भूकम्पले दिएको चोट भुल्ने वातावारण पनि चटपटे व्यापारले दिएको छ । त्यसबेला भूकम्पले उठीबास नै लगाए पनि अहिले चटपटेमा घिमिरे दम्पती स्थापित छन् । उनीहरूले अप्ठ्यारो परिस्थतिमा पनि धैर्य गरेर व्यापर व्यावसाय गरेको जसबाट सफलता मिलेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै