गुल्मीमा विपद्का घटनाबाट एक करोड बढीको क्षति
गुल्मी । जिल्लामा विपद्का घटनाबाट एक करोडभन्दा बढीको क्षति भएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा विपद्का घटनाबाट एक करोड ७६ लाख ५८ हजार २०० रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्कर्माका अनुसार एक वर्षमा विभिन्न दुई सय तीन वटा विपद्का घटना हुँदा मानिस मृत्यु चार, घाइते २०, बेपत्ता एक, चौपाया ५१ मृत्यु, घाइते छ भएका छन् । त्यसैगरी ४० वटा घर र ४८ वटा गोठमा क्षति भएको छ । यस समयावधिमा सरकारी कार्यालय एक, अन्य एक सय आठ र छ वटा सवारीसाधनमा क्षति भएको हो ।
विपद्बाट ११ घरधुरीका ३८ परिवार विस्थापित भएका छन् । विपद्का घटनामध्ये सबैभन्दा धेरै आगलागीका घटनाको छ । आगलागीका ८५ घटना हुँदा ७६ लाख ९९ हजार दुई सय रुपियाँ बराबरको क्षति भएको छ । आगलागीका कारण मानिस मृत्युु तीन, घाइते पाँच, चौपाया मृत्यु ३१, घाइते छ, घर ११ र गोठ ३० मा क्षति भएको हो । अन्य ३६ र सवारीसाधन दुईको क्षति भएको छ । आगलागीका कारण दुई घरधुरीका चार परिवार विस्थापित भएका छन् ।
चट्याङका १६ घटनाबाट २६ लाख २९ हजार रुपियाँ बराबरको क्षति भएको छ । चट्याङका कारण मानिस मृत्य एक र घाइते १५, चौपाया मृत्यु दश, घर चार, गोठ तीन र अन्य तीनमा क्षति भएको हो । चट्याङका कारण एक घरधुरीका छ परिवार विस्थापित भएका छन् ।
बाढी/डुबानका २० वटा घटना हुँदा तीन लाख ५५ हजार रुपियाँ बराबरको क्षति भएको छ । अन्य १९ र सवारीसाधन एकमा क्षति पुगेको हो । पहिरोका ५६ वटा घटना हुँदा १८ लाख रुपियाँ बराबरको क्षति भएको छ । पहिरोले घर नौ, गोठ दुई, अन्य ४५ र सवारीसाधन तीनमा क्षति पु¥याएको छ । पहिरोका कारण पाँच घरधुरीका १७ परिवार विस्थापित भएका छन् ।
अविरल वर्षाका २१ वटा घटना हुँदा ३३ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ । पशुचौपाया मृत्यु १०, घर ११ र गोठ छ, सरकारी कार्यालय एक, अन्य चारमा क्षति भएको छ । अविरल वर्षाका कारण तीन घरधुरीका ११ परिवार विस्थापित भएका छन् । हावाहुरीका पाँच वटा घटना हुँदा एक लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
हावाहुरीले घर पाँच, गोठ सात, अन्य एकमा क्षति पु¥याएको हो । चालू आव २०८३–०८४ को हालसम्म यस जिल्लामा विपद्का घटनाबाट १९ लाख ७८ हजार रुपियाँ बराबरको क्षति भएको छ । विभिन्न २५ वटा विपद्का घटना हुँदा चौपाया मृत्यु छ, घाइते दुई भएका छन् । अन्य एकमा क्षति भएको छ ।
आगलागीका चार वटा घटना हुँदा १५ लाख ५६ हजार बराबरको क्षति भएको छ । आगलागीका कारण चौपाया मृत्यु चार, घाइते दुई भएका छन् । घर एक, गोठ दुईमा क्षति पुगेको छ । चट्याङको घटना एक हुँदा १० हजार बराबरको क्षति भएको छ । चट्याङका कारण चौपाया एकको मृत्यु भएको छ ।
पहिरोका १२ वटा घटना हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको अन्य एकमा क्षति पु¥याएको छ । अविरल वर्षाका आठ वटा घटना हुँदा एक लाख १२ हजार बराबरको क्षति भएको छ । यसका कारण चौपाया मृत्य एक भएको छ । घर चार र गोठ दुई क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिकृया दिनुहोस