एक वर्षमा बागलुङमा एक अर्बबढी राजस्व सङ्कलन
बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब २९ करोड ५३ लाख ३७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले निर्धारित लक्ष्यको ७०.४५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुङले एक वर्षमा एक अर्ब ८३ करोड ८७ लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल शिलवालका अनुसार घट्दो ब्याजदर, बढ्दो अनलाइन कारोबार, भ्याटमा लाग्दै आएको ३० प्रतिशत करको प्रावधान हट्नु तथा ठेक्कापट्टाको रकम कम भुक्तानी भएकाले लक्ष्यको करिब ७० प्रतिशत मात्र राजस्व सङ्कलन भएको हो ।
यस्तै, ५० करोड रुपियाँभन्दा बढी कारोबार गर्ने उद्योग तथा संस्थाको राजस्व उपल्लो तहको कर कार्यालयमा जम्मा गर्ने प्रावधानका कारण पनि कार्यालयको राजस्व सङ्कलनमा कमी आएको उहाँले बताउनुभयो । बागलुङसहित म्याग्दी, पर्वत र मुस्ताङ कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयले पछिल्लो समय कर साक्षरता कार्यक्रमलाई समेत तीव्रता दिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब सात करोड ६६ लाख रुपियाँ अर्थात् लक्ष्यको ८८ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।


प्रतिकृया दिनुहोस