• १ असोज २०८३, बिहीबार
  • १५:४८:४०

Now: लोकछहारी

Next: थाहा अपडेट

द्वन्द्वले गाउँ छाडिन्, सीपले उद्यमी बनिन् प्रेमकुमारी

बागलुङ । सशस्त्र द्वन्द्वको समय थियो। गाउँमा बस्न सहज थिएन। पढ्ने उमेरका विद्यार्थीसमेत माओवादीको सशस्त्र लडाकु बनाउन लगिएका घटना भइरहेका थिए। त्यही बेला एसएलसी दिएपछि माओवादीका स्थानीय नेताको नजरमा परिन् प्रेमकुमारी श्रीष। २०५९/६० सालतिर माओवादीले युवालाई जनसेनामा लैजान धमाधम जंगल पुर्‍याइरहेको थियो।

घरमै बसेको भए आफू पनि युद्धमा जानुपर्ने बाध्यता आउन सक्ने डर प्रेमकुमारीलाई थियो। पटक–पटक जनसेनामा जान आग्रह गर्दै नेताहरू घरमा आइरहन्थे। गाउँका दर्जनौं युवा सल्लाह वा जबर्जस्ती जनसेनामा गइसकेका थिए। त्यसबाट उम्कने बहाना खोजिरहेकी थिइन् उनी।

गलकोट नगरपालिका–६ को दुर्गम भुजुंगे गाउँमा जन्मेहुर्केकी प्रेमकुमारीले एसएलसी उत्तीर्ण गरेपछि माओवादीको जनयुद्धमा लाग्न दबाब र आग्रह खेपिरहेकी थिइन्। एकातिर त्यो आग्रह मान्ने कि नमान्ने भन्ने समस्या थियो भने अर्कोतिर घरको कमजोर आर्थिक अवस्थाका कारण कमाइको बाटो खोज्नुपर्ने बाध्यता पनि थियो। हरिचौरस्थित पृथ्वी माध्यमिक विद्यालयबाट एसएलसीसम्म पढेकी थिइन् उनले।

उच्च शिक्षा पढाउन परिवारको आर्थिक अवस्था सक्षम थिएन। तर गाउँमा आफू बजार जाने कुरा फैलाउनु थियो। घरमा बसेकालाई माओवादीले जनमुक्ति सेनामा जतिबेला पनि लैजान सक्थ्यो। त्यसैले एसएलसी उत्तीर्ण गरेपछि प्रेमकुमारीले २०६० सालमा बजार पस्ने निधो गरिन्। पढ्ने अवस्था नभएपछि आयआर्जन गरेर परिवार पाल्ने सोच बनाइन्। अवसर पाए पढ्ने, नत्र सीप सिक्ने लक्ष्य बोकेर बजार झरिन्।

सशस्त्र द्वन्द्वको चपेटामा परेको गाउँबाट बजार झर्दा नयाँ मानिसलाई डेरा पाउनसमेत समस्या थियो। सुरुमा कहाँ बस्ने, के खाने भन्ने चिन्ता भयो। जता गए पनि सोधपुछ हुन्थ्यो। गलकोटदेखि बजार आइपुग्दा तीन–चार ठाउँमा चेकजाँच पार गरेर आएको उनी सम्झिन्छिन्। बजारमा रहेकी छिमेकी दिदीको घरमा आश्रय लिन पुग्दा पनि वरपरका मानिसले के–कसो हो भनेर सोध्थे।

डरैडरको त्यो समयमा गलकोटकै हरिकला श्रीषले सञ्चालन गरेको ‘धौलागिरि सिलाई प्रशिक्षण केन्द्र’ पुगिन्। त्यहाँ उनले पाँच महिनासम्म सिलाईकटाई सिकिन्। सिलाईको परिचयपत्र पाएपछि उनलाई बजारमा बस्न सहज भयो। हातको सफाइका लागि हरिकलाले एक महिना आफ्नै केन्द्रमा अभ्यासमा राखेर श्रीषलाई दक्ष बनाइन्। त्यसो त उनी बसेको डेरामा अर्को घटना पनि भयो।

म्याग्दी आक्रमणपछि बागलुङमा पनि लडाइँ हुने डर थियो। बागलुङका प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकारी तथा कर्मचारी पटक–पटक उनी बसेको घरछेउमा लुक्न जान्थे। ‘सिडिओको त ज्यान जोखिममा परेको बेला रहेछ, हामी त के बाँचिन्थ्यो होला,’ उनले भनिन्, ‘द्वन्द्वमा लागिएन, बरु सीप र पेसामा लागियो, त्यसले बाँच्न र बचाउन सिकाएको छ।’

भाग्यवश बागलुङमा युद्ध भएन र उनी बसेको स्थानमा कुनै आक्रमण भएन। द्वन्द्वको बेला सुरक्षाका कारण बजारमा बसे पनि डरैडरमा रात काटेको उनी सम्झिन्छिन्। एक्लै काम गर्न सक्छु भन्ने लागेपछि उनले गाउँकै अर्की दिदी मिनाको साथ लागेर व्यवसाय थालिन्। त्यसका लागि पुँजी थिएन। पैसा माग्दा बाबुआमाले ‘भयो, घर फर्क’ भने। तर उनलाई घरको जिम्मेवारी बढेको महसुस भयो।

ऋण खोजेर ५ हजार रुपैयाँमा मेसिन किनिन्। त्यही मेसिनबाट महिलाका कपडा सिलाउने काम सुरु गरिन्। बिस्तारै त्यसले उनलाई आयआर्जनमा सफल बनाउँदै लग्यो। घर फर्कन दबाब दिएका बाबु नन्दप्रसाद र आमा कोपिलाले एक वर्षपछि छोरीले कमाइ गर्न थालेको देखेपछि मात्र बोलाउन छाडे। छोरीले काम गरेर बाबुआमालाई पाल्न र घरखर्च चलाउन सक्छिन् भन्ने उनले देखाइन्।

उनको कमाइबाट एक भाइ, दुई बहिनी र बाबुआमाको भविष्य बनाउने चुनौती थियो। त्यसैले बाबुआमाले फर्कन भने पनि जोखिम मोलेरै बजारमा मेहनत गरिरहिन्। रातदिन मेहनत गर्ने बानी बस्यो। कमाएर मात्र होइन, बचत पनि गर्नुपर्छ भन्ने मान्यता राखेर नियमित बचत गर्न थालिन्। उनलाई विवाहबारे सोच्ने समय पनि पुगेन। अहिले उनी ४५ वर्षकी भइसकेकी छन्।

‘बाबुआमाले बुढ्यौलीमा अप्ठ्यारो पर्छ, साथी पाउँदिनस् भनेर भन्नुहुन्छ,’ उनले भनिन्, ‘जे जसो होला भनेर विवाहबारे सोच बनाइनँ।’ अझै पनि उनी २०/२२ वर्षे तन्नेरीझैं मेहनत गरिरहेकी छन्। कमाइका लागि मात्र नभई समाजका लागि काम गर्ने उनको सोच छ। श्रीषले पेसासँगै सिलाईको लेबल–२ को परीक्षा पनि उत्तीर्ण गरेकी छन्। यही क्षमताका कारण विभिन्न संस्थाले उनलाई प्रशिक्षकका रूपमा बोलाउँछन्।

समय मिलाएर त्यहाँ पुग्ने, तालिम दिने र आफ्नो काम पनि नियमित राखेकी छन्। तालिम दिने मात्र होइन, तालिम लिएका सबैलाई व्यवसायमा लाग्न प्रेरित गरिरहन्छिन्। सदरमुकामको बुद्धचोकस्थित ‘मंगोलियन लेडिज टेलर्स’मा उनी नियमित काम गर्छिन्। त्यसबाहेक विभिन्न संस्थाले उनलाई तालिमका लागि बोलाउँछन्।

महिला दिदीबहिनीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने काममा पनि उनले साथ दिँदै आएकी छन्। अहिले उनी सदरमुकाममा एक्लै छिन्। अब भने हिजोको जस्तो डर छैन। आर्थिक रूपमा पनि सक्षम भएकी छन् भने सीपमा अब्बल बनिसकेकी छन्। सटर भाडामा लिएर पाँचवटा मेसिन राखेकी छन्। तीमध्ये एउटा बागलुङ नगरपालिका र अर्को उद्योग कार्यालयले ८० प्रतिशत अनुदानमा दिएको हो।

ती मेसिनबाट अर्डरअनुसारका कपडा सिलाएर उनले मनग्ये कमाइ गरिरहेकी छन्। कमाइलाई घरखर्च र भाइबहिनी पढाउने काममा लगाएकी श्रीषले अहिले चितवनमा घडेरीसमेत किनेकी छन्। भाइका छोराछोरीको पढाइ खर्च व्यवस्थापन र वैदेशिक रोजगारीका लागि भाइलाई खर्चसमेत पुर्‍याएको बताइन्।

अहिले पनि अर्डरअनुसारका कपडा तयार पारेर विदेश पठाउनेदेखि गाउँदेखि बजारका ग्राहकलाई समयमा कपडा उपलब्ध गराउने कामले उनी सबैको रोजाइमा पर्छिन्। मौसमअनुसार तीन जनासम्म कामदार राख्ने गरेको उनले बताइन्। उनको मेहनतकै कारण उद्योग तथा पर्यटन कार्यालय, बागलुङ उद्योग वाणिज्य संघलगायतले सम्मान र पुरस्कार दिएका छन्।

‘हामीलाई सीप सिकाउनु भयो, काम गर्ने प्रेरणा पनि दिनुभयो,’ बागलुङ नगरपालिका–१ की उद्यमी लक्ष्मी श्रेष्ठले भनिन्, ‘मेहनत गर्नुपर्छ भन्ने उहाँकै प्रेरणाले सिकेका हौं।’ श्रीषकै प्रेरणाले लक्ष्मीले पनि अहिले प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी छन्। श्रीषको अगुवाइमा बागलुङका ४० भन्दा बढी महिला सिलाईबाटै आत्मनिर्भर बन्न पाएको उनले बताइन्।

श्रीषले सिलाई तथा कपडा व्यवसायी संघको अध्यक्ष भएर दुई कार्यकाल बिताइन्। उनीभन्दा अघि पुरुष मात्रै अध्यक्ष थिए। श्रीष अध्यक्ष भएपछि संघलाई जिल्ला प्रशासन कार्यालय र उद्योग कार्यालयमा दर्ता गराइन्। अहिले सबैले नगरपालिका, उद्योग कार्यालय र कर कार्यालयमा कर तिर्छन्। 'जनसेना'मा पठाउन खोज्ने नेताहरू अहिले उनको पसलमा काम लिएर आइपुग्छन्।

उनको मेहनत र उन्नति देखेर नतमस्तक बन्छन्। ‘त्यो बेला द्वन्द्वमा गएको भए मरिन्थ्यो वा बाँचिन्थ्यो, तर अहिले समाजलाई सेवा गर्न पाएकी छु,’ उनले भनिन्, ‘जसले पठाउन खोज्थे उनीहरूको पनि काम गरिदिन पाएकी छु।’ श्रीषकै अगुवाइमा सिलाईको भाडादर निर्धारण भयो। अहिले हरेक सिलाई पसलमा उनकै पालाको दररेट राखिएको छ। ‘महिलालाई संस्थामा पत्याउने चलन थिएन।

तर उनलाई सबैले पत्याए। उनकै पालामा संस्था दर्ता भयो। भाडादर निर्धारण भयो, अहिले संस्थागत बनेको छ,’ अर्की व्यवसायी सीता शर्माले भनिन्, ‘महिलाकै अगुवाइमा उद्यमीहरू बढेका छन्।’ अहिले सदरमुकाममा महिला उद्यमीका पसल धेरै छन्। त्यसो त सिलाई व्यवसायलाई फेन्सीसँगको प्रतिस्पर्धा धेरै छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै