• ३१ भदौ २०८३, बुधबार
  • १४:३०:५७

Now: संगित सरगम

Next: नेपाल खवर

बागलुङमा दुई सयबढीमा स्क्रब टाइफस सङ्क्रमण

बागलुङ । डेंगु रोगको जोखिम रहेको बागलुङमा किर्नाजस्तो सूक्ष्म जीवको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामी तीव्र गतिमा बढेका हुन् । गत वर्ष पाँच जनामा मात्र देखिएको स्क्रब टाइफसको सङ्क्रमण चालु आर्थिक वर्षको असारयता दुई सय ८२ जनामा देखिएको छ ।

सङ्क्रमितमध्ये केहीलाई पोखरा रिफर गरिएको छ भने केहीको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि समुदायमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्ने, घरवरपर नियमित सरसफाइ गर्ने तथा स्वास्थ्य जाँच गराउने अभियान चलाइएको प्रदेश जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । यो सङ्क्रमित लार्भल माइटको टोकाइबाट मानिसमा सर्छ । विशेषगरी घाँस, झाडी, खेतबारी तथा वनजङ्गलमा काम गर्ने वा धेरै समय बिताउने व्यक्तिमा यसको जोखिम बढी हुने धौलागिरि प्रादेशिक अस्पतालका चिकित्सक डा. सन्दीप केसी बताउनुहुन्छ ।

उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जीउ तथा मांसपेशी दुख्ने, किराले टोकेको स्थानमा दुखाइरहित कालो दाग बस्ने तथा आँखा सुन्निने वा रातो देखिने स्क्रब टाइफसका प्रारम्भिक लक्षण हुन् । स्क्रब टाइफसलाई सामान्य ज्वरो सम्झेर बेवास्ता गर्न नहुने डा. केसीको भनाइ छ ।

घाँस, झाडी तथा वनस्पति धेरै भएको ठाउँमा जाँदा शरीर पूरै ढाक्ने कपडा, मोजा र जुत्ता प्रयोग गर्ने, आवश्यकताअनुसार कीरा भगाउने औषधी प्रयोग गर्ने, बाहिरबाट घर फर्किएपछि कपडा परिवर्तन गरी शरीर सफा गर्ने तथा घरवरपरका झाडी र वनस्पति हटाउनेजस्ता उपाय अपनाएमा स्क्रब टाइफसबाट बच्न सकिन्छ ।

ज्वरो धेरै दिनसम्म रहनुका साथै सास फेर्न गाह्रो हुने, बेहोस वा अलमल हुने, पिसाब कम हुने, लगातार बान्ता हुने, रक्तस्राव हुने वा बिरामीको अवस्था बिग्रिँदै जानेजस्ता संकेत देखिए तत्काल स्वास्थ्य संस्थामा जान डा. केसीले सुझाव दिनुभएको छ ।

स्क्रब टाइफसका बिरामीमा रगतसम्बन्धी जटिलता देखिन सक्ने भएकाले आवश्यकताअनुसार रगत तथा रगतका अवयवको व्यवस्था गर्नुपर्ने हुन्छ । धौलागिरि प्रादेशिक अस्पतालमा रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट आवश्यक रगत तथा रगतका अवयव उपलब्ध गराइँदै आएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै