• ३१ भदौ २०८३, बुधबार
  • १४:३१:०४

Now: संगित सरगम

Next: नेपाल खवर

चार वर्षमा सिमलटारी–सौतामारे खण्डको काम तेत्तिस प्रतिशत मात्रै

गुल्मी । हाल मदन भण्डारी राजमार्गको दुई खण्डमा काम भइरहेको छ । दुई खण्डमध्येको पश्चिम सिमलटारी–सौतामारे खण्डको काम अलपत्र परेपछि सर्वत्र आलोचना भइरहेको छ । २०७९ सालमा सम्झौता भएकामध्ये रिडी–तम्घास पहिलो खण्डको काम सकिएको छ तर २०७९ सालमै ठेक्का भएको सिमलटारी–सौतामारे खण्डको काम चार वर्षमा ३३ प्रतिशत भएको छ ।

निर्माण व्यवसायीले चार वर्ष काममा आलटाल गर्दा पक्की सडकको साटो नागरिकले दैनिक सास्ती पाएका छन् । मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले चार वर्षदेखि नागरिकले सास्ती पाउँदा पनि आयोजना कार्यालयबाट न्याय नभएको बताउनुभयो । उहाँले स्थानीयको आलोचना आफूहरूले खेपिरहेको बताउँदै तत्काल काम वा कारबाहीको विकल्प नभएको बताउनुभयो ।

गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्म ३१.८ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर सडक गुल्मीमा पर्छ । यो सडक निर्माणका लागि श्रेष्ठ सक्षम जेभीले २०७९ कात्तिक ६ गते सम्झौता गरेको थियो । मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीका अनुसार अहिलेसम्म ३३ प्रतिशत भौतिक र २८ प्रतिशत वित्तीय प्रगति भएको छ । 

कार्यालयले गत जेठ २७ गते नै निर्माण व्यवसायीको नाममा ठेक्का किन नतोड्ने ? भन्ने सूचना प्रकाशन गरिसकेको र मनसुनसम्म कामको प्रगति हेरेर बसेको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रकाशन भइसकेको छ । अब पर्खेर बस्दैनौँ, मनसुनपछि ठेक्का तोड्ने काम अगाडि बढाउँछौँ ।”

निर्माण व्यवसायीले सडकमा नियमित काम नगरेको मार स्थानीयलाई छ । दैनिक गाडी फस्ने, पहिरो खस्ने र मान्छेसमेत आवतजावत गर्ने अवस्था सडकमा नरहेको मदाने गाउँपालिका–५, म्यालपोखरीका जिपचालक दीपेन्द्र भट्टराईले गुनासो गर्नुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै