• ३१ भदौ २०८३, बुधबार
  • १४:३०:५७

Now: संगित सरगम

Next: नेपाल खवर

छात्रावासमा मृत्यु घटनाको निष्पक्ष छानविन गर्न बहिरा संघको माग

बागलुङ । बागलुङ बहिरा संघले धवलागिरी बहिरा आवासिय माविको छात्रावासमा किशोरी मृत्यु घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । गत शुक्रबार छात्रावासमा बसेर अध्ययनरत छात्राको मृत्युको घटनापछि संघले सार्वजनिक रुपमा सबैलाई अपिल गरेको हो ।

बहिरा भएका कारण आफ्नो समस्या बाहिर ल्याउन नसकेको, त्यस बारेमा सरोकारवालाको ध्यान नगएको कारण देखाइ छानविनको माग गरेको अध्यक्ष अमृत शर्माले बताए ।उनीहरुले प्रहरी कार्यालयलाई पनि निवेदन दिएर निश्पक्ष छानविन गरिनुपर्ने बताएका छन् । कम्युटर इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत मायादेवी रावत गत शुक्रबार मृत भेटिएकी थिइन् ।

बेलुकीको खाना खाएर छात्राबासमा सुतेकी रावत राती ३ बजे झुण्डिएको अस्थामा भेटिएकी थिइन् । उक्त कोठामा सँगै सुत्ने १८ जनालाई प्रहरीले बयान लिइरहेको छ । संघले भने बहिरा व्यक्तिहरूको सञ्चार, सुरक्षा तथा आफ्ना समस्या व्यक्त गर्ने अवस्था सामान्य व्यक्तिभन्दा फरक र संवेदनशील हुने भएकोले सोही अनुसारको छानविन र सोधपुछ गर्न पनि माग गरेको हो ।

साथै विद्यालयको छात्रावास जस्तो सुरक्षित र संरक्षण प्रदान गर्नुपर्ने स्थानमै विद्यार्थीको ज्यान जानु अत्यन्त गम्भीर विषय भएको संघले जनाएको छ । घटना आत्महत्या नै हो वा कसैको दबाब, दुव्र्यवहार, हिंसा, मानसिक यातना, लापरबाही वा अन्य कुनै आपराधिक कारणबाट भएको हो भन्ने विषय निष्पक्ष र वैज्ञानिक अनुसन्धानबाट स्पष्ट हुन अत्यन्त आवश्यक छ भन्दै शर्माले संचार माध्यमलाई पनि यो विषय उठान गरेर सहयोग गर्न माग गरेका छन् ।

संघले १० बुँदे माग गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र, गम्भीर र प्रभावकारी अनुसन्धान गर्नुपर्ने, घटनास्थलबाट प्राप्त सम्पूर्ण प्रमाण सुरक्षित गर्न, उनी विरुद्द कुनै प्रकारको धम्की, दबाब, दुव्र्यवहार वा मानसिक यातना दिइएको भएपनि पत्ता लगाउनुपर्ने माग गरिएको छ । अनुसन्धानको नाममा घटनालाई दबाउने, प्रमाण नष्ट गर्ने काम नगर्न पनि आग्रह गरिएको छ ।

अनुसन्धानमा दक्ष दोभाषे प्रयोग गर्न पनि सुझाव दिइएको छ । घटनाबारे छानविन शुरु भएको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । विद्यालयका शिक्षक रेशम श्रीषले पनि घटना अनौठो भएको बताए । राती सँगै सुत्ने बेलासम्म सामान्य भएको र मृतकले रातीसम्म ल्यापटप चलाएको पाइएको बताए ।

जुम्ला घर भएकी ती छात्रा तीन वर्षदेखि यहाँ कार्यरत थिइन् । उनी पढ्न आउँदा बाहिर बस्न खोजेको तर विद्यालयको नियमअनुसार छात्राहरु छात्रावासमै बस्ने नियम अनुसार बसेको श्रीषले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै