हावाहुरीले बडिगाडका दर्जन बढी घरमा क्षती
खर्वाङ । बिहिबारको वर्षाले ग्रामिण सडक अबरुद्ध बाहेक खासै असर नगरेको बडिगाड गाँउपालिकामा शुक्रबार साँझबाट चल्न थालेको हावाहुरीले भने ठुलो क्षती गरेको छ । हावाहुरीबाट गाउँपालिकाको वडा नं. १, ३, ४ र ८ मा ठुलो क्षती गरेको वडाध्यक्षहरुले जानकारी दिएका छन ।
शुक्रबारबाट लगातार हावा चलेकोले क्षतीको जानकारी भएपनि केहि गर्न नसकिएको उनिहरुले बताए । हावाहुरीले स्थानियका घर, गोठ, विद्यालय साथै विद्युत र मोवाईल नेटवर्कमा क्षती गरेको हो ।
वडा नं. १ दगातुम्डाँडाका वडाध्यक्ष बोम बहादुर थापाका अनुशार वडाको दुर्लुङ क्षेत्रमा हावाहुरीले चार घरको छानो उडाएको छ । मोवाईल नेटवर्कको समस्याले अन्यत्र अवस्था बुझ्न नसकिएको पनि उनले बताए । वडाको ओवाङ क्षेत्रमा पनि क्षती भएको जानकारी आएको थापाले बताए ।
हावाहुरीले सबैभन्दा बढी वडा नं. ३ सिसाखानीमा क्षती गरेको छ । वडाध्यक्ष खडक बहादुर पुनका अनुशार वडाको खालटोल, बलेचौर, देविस्थान, ओखरबोट, तारञ्जा लगाएतका क्षेत्रमा क्षति भएको हो । सिसाखानीमा कञ्चनापुर आधारभुत विद्यालय सहित करिब २० घरमा क्षती भएको उनले बताए ।
लगातारको हावाहुरीले गोठ र कृषिवालीमा अझ ठुलो क्षति गरेको पुनले जानकारी दिए । स्थानियले लगातार क्षतिको जानकारी गराएपनि निरन्तरको हावाहुरीले केहि गर्न नसकिएको उनले बताए ।
उता बडिगाड ४ जलजलामा पनि एक सार्वजनिक भवन सहित ६ घरगोठका छानो हावाले उडाएको वडाध्यक्ष मिलन रेश्मीले जानकारी दिएका छन ।
यस्तै बडिगाड ८ रणसिंहकिटेनीमा हावाहुरीले फोर्सा, नेपाने, खोलाखर्क, नेटाखर्क लगाएतका स्थानमा दर्जन हाराहारि घरमा क्षति गरेको वडाध्यक्ष जंग बहादुर बलाल थापाले जानकारी दिए । त्यहाँ हावाहुरीले विद्युतका पोलमा क्षति गरेकोले थप समस्या भएको उनले बताए । तत्काल विद्युत संचालन गर्न सकिने अबस्था नरहेको पनि उनले बताए ।
बडिगाड १० दर्लिङका केहि स्थानमा हावाहुरीले क्षती गरको जानकारी भएपनि मोवाईल नेटवर्कको समस्याले पुष्टि गर्न बाँकि रहेको वडाध्यक्ष विरेन्द्र बुढाले जानकारी दिए ।
यता हावाहुरीले गलकोट नगरपालिका ११ रिघा स्वास्थ्य चौकीको बैठक कक्षमा क्षति गरेको स्थानिय शिशिर श्रीसले जानकारी दिए । मौसम प्रतिकुलताको कारण क्षतिको विवरण संकलन गर्न कठिन भएको जनप्रतिनिधीहरुले बताएका छन ।
बडिगाडमा अहिले सम्म मानविय तथा पशुमा क्षती भएको विवरण नआएपनि भौतिक र अन्न बालिमा ठुलो क्षतिभएको छ । यहाँ प्राय ग्रामिण सडक, विद्युत र संचार सेवा लगभग ठप्प जस्तै छ ।


अनिष पाठक
प्रतिकृया दिनुहोस