तीन दिनदेखि सम्पर्क विहिन ताराखोला
बागलुङ । जिल्लाको ताराखोला गाउँपालिका बाहिरी सम्पर्कबाट विच्छेद भएको छ । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढिरहेका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएपछि ताराखोलाको पछिल्लो अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
सहज सम्पर्क हुन नसकेको तीन दिन र पूरै सम्पर्क टुटेको एक दिन बितिसक्दा पनि अहिलेसम्म ताराखोलाको स्थलगत अवस्था बुझ्न हेलिकप्टर पुग्न सकेको छैन । सडकमार्गसमेत अवरुद्ध रहेकाले स्थलगत अनुगमन तथा आवश्यक उद्धार टोली पुग्न कठिनाइ भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदीले हिजोदेखि ताराखोलाका बासिन्दासँग कुनै किसिमको सम्पर्क हुन नसकेको बताए ।
'हिजोसम्म त सीमित मात्रामा भए पनि सम्पर्क हुन सकेको थियो, त्यसयता कुनै किसिमको सम्पर्क छैन,' सहायक प्रजिअ सुवेदीले भने, 'विद्युत अवरुद्ध छ, नेट र फोन चलेको छैन । त्यहाँका बासिन्दाको अवस्थाबारे कुनै जानकारी हुन सकेको छैन ।'
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य नेतृत्वको टोली तमानखोला पुगेको सुवेदीले बताए । 'उद्धार र राहतका लागि सीडीओसाब सहितको टोली तमान खोला पुगेको छ,' सुवेदीले भने ।
त्यस क्षेत्रका सांसद सोम शर्माले ताराखोलाको अवस्था बुझ्न हेलिकप्टरमार्फत स्थलगत अनुगमनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिएका छन् । तर, यो समाचार तयार पार्दासम्म हेलिकप्टर ताराखोला पुगेको पुष्टि भएको छैन । ताराखोला क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक वर्षा भएको र उक्त क्षेत्र उच्च जोखिममा रहेको बताइएपछि देश–विदेशमा रहेका ताराखोलाबासीले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जालमार्फत ताराखोलाको वास्तविक अवस्था बुझ्न तत्काल स्थलगत अनुगमन तथा आवश्यक उद्धार र राहतका लागि पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यसैबीच, हिजाे शनिवार ताराखोला गाउँपालिका–५ धम्मरमा पहिरोले घर पुर्दा ६९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घरबाहिर पिँढीमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस