पहिराेले निसिखाेलामा ४ जनाकाे मृत्यु, तमानखोलामा मानवीय क्षतिको आशङ्का
बागलुङ। निसीखोला गाँउपालिकामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ हर्दरामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३९ वर्षकी श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।
तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्लेलामा पहिरो जाँदा मानवीय क्षति भएको आशङ्का गरिएको छ । यद्यपि, घटनास्थलमा नेटवर्कमा समस्या भएकोले पुष्टि हुन सकेको छैन । पहिरोमा परी केही व्यक्तिहरू पुरिएको बताइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार घटनास्थलमा प्रहरी र अन्य सरोकारवाला पक्ष पुग्ने क्रममा छन् ।
घटनास्थलमा टेलिफोन नेटवर्क नभएका कारण त्यहाँको अवस्था बुझ्न कठिनाइ भइरहेको उनले सुनाए । ‘पहिरो गएको र मानिसहरू परेको भन्ने जानकारी सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्राप्त भएको छ । तर कति जनाको क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन,’ उनले भने, ‘त्यहाँ फोन लाग्दैन, वडाध्यक्षज्यूको फोनमा पनि सम्पर्क हुन सकेको छैन । त्यसैले वास्तविक विवरण पाउन सकेका छैनौँ ।’
मौसम प्रतिकूल भएका कारण सञ्चारमा थप समस्या आएको बताइएको छ । ‘त्यो ठाउँमा सामान्य अवस्थामा पनि नेटवर्कले राम्रोसँग काम गर्दैन। अहिले पानी परिरहेको र झरी–बादल भएकाले फोन सम्पर्क पूरै विच्छेद छ,’ उनले थपे । पहिरोका कारण सडक अवरुद्ध भएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न समेत निकै समस्या परेको छ ।
प्रहरी तथा स्थानीय टोली घटनास्थलतर्फ जाँदै गरेको भए पनि उनीहरूसँग समेत सम्पर्क हुन नसकेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पनि उद्धार टोली घटनास्थलतर्फ गइरहेको जनाएको छ ।


रेडियो सारथी
प्रतिकृया दिनुहोस