• २५ श्रावण २०८३, सोमबार
  • १०:३४:५२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

एक वर्षमै धौलागिरि अस्पतालमा १ लाख २ हजार बिरामीको उपचार

बागलुङ । धौलागिरि अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा १ लाख २ हजार नागरिकलाई सेवा दिएको छ । अस्पतालका अनुसार सात दिनभित्र दोहोरिएर आएका बिरामी यो तथ्यांकमा छैनन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीका अनुसार अघिल्लो वर्षसम्म अस्पतालमा विद्युतीय रेकर्डको व्यवस्था थिएन ।

गत वर्ष मात्र यो प्रणाली जडान गरेपछि बिरामी र दोहोरिने सेवाग्राहीको हटाउन सम्भव भएको हो । अघिल्लो वर्ष उक्त प्रणाली नहुँदा अस्पतालले कुल १ लाख २६ हजार जनालाई उपचार सेवा प्रदान गरेको जनाएको थियो ।  ‘आकस्मिक उपचार सेवा पाएका २२ हजार ५४१ जना पनि यसैमा समावेश थिए,’ तिवारीले भने, ‘स्नायु प्रणालीको समस्या र हृदयघात भएका बिरामी मात्र अस्पतालले रिफर गर्न थालेको छ ।’

केही वर्ष अघिसम्म रिफरल अस्पतालको रुपमा चिनिए पनि अब भने विशेषज्ञ सेवा दिने अस्पताल बनेको उनले बताए । अस्पतालमा हाल १८ जना विशेषज्ञ चिकित्सकसहित ३० भन्दा बढी डाक्टर कार्यरत छन् । जसका कारण जटिल प्रकारका अपरेसन समेत हुन थालेको छ । गत आबमा मात्रै बेहोस बनाएका २५० र अन्य ४१५ जनाको अप्रेसन गरिएको थियो ।

धौलागिरि अस्पताल तत्कालीन बागलुङ जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै प्रदेश अस्पताल बनेको छ । १५० बेडमा उपचार दिएको अस्पतालले हाडजोर्नी, नाक, कान घाँटी, स्त्री तथा प्रसूति सेवा,  डायलाइसिस, सुरक्षित गर्भपतन, आँखा उपचार केन्द्र, पाठेघरको क्यान्सरविरुद्धका उपचार समेत गर्न थालेको छ । अस्पतालले ६३ जनालाई नियमित डायलायसिस सेवा समेत दिँदै आएको छ ।

अस्पताल श्रोतका अनुसार गत आब यहाँ ७८५ जनाले सुत्केरी सेवा लिएकोमा २४८ जनाको अपरेसनमार्फत बच्चा जन्माइएको थियो ।   पछिल्लो समय अस्पतालले ह्वाइट ब्लडको व्यवस्थापन समेत गरेपछि सर्पदंश र डेंगुका बिरामीको समेत उपचार हुन थालेको तिवारीले जानकारी दिए ।

‘रेडक्रसले सेतो रगत उत्पादनसहितको रक्त सञ्चार सञ्चालन गरिदिएपछि अपरेसन र सर्पदंशको उपचार गर्न सकेका छौं,’ तिवारीले भने, ‘स्वास्थ्य बीमाले पनि अस्पतालको गरिमा बढाएको छ ।’ उनका अनुसार एक वर्षमा यहाँका ७१ हजार ७२९ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए ।  पछिल्लो समय बाल उपचार केन्द्र, प्रसव पीडाबिनै प्रसूति गराउने इपियोएनेल्सीया सेवा पनि दिने गरिएको छ ।

भिडियो एक्स-रे र ट्रमा उपचारको सेवा पनि सञ्चालन भएपछि दुर्घटनाका बिरामी समेत रिफर गर्न नपर्ने भएको छ । अस्पतालले प्रमाणपत्र तहको स्टाफ नर्स पढाइका लागि मेडिकल कलेजको रुपमा अस्पताललाई विकास गर्ने तयारीमा छ । त्यसका लागि आवश्यक तयारी भएको अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै