• २५ श्रावण २०८३, सोमबार
  • १०:३५:३८

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

ताराखाेलामा कटुवाल लगाउने ‘जोम्तोघर’ अब पुस्तकालय

बागलुङ । नेपालका अधिकांश स्थानमा परम्परागत मुखिया प्रथा थियो । गाउँमा हुने झैझगडा र विवादका विषय मुखियाले समाधान गर्थे । केही भेला तथा सार्वजनिक काम गर्नु परे कटुवाल लगाउने चलन त अझै पनि बाँकी छ । ताराखोला गाउँपालिका–२ को अर्गल गाउँमा पनि यो परम्परा लामो समय चलेको स्थानीय बताउँछन् ।

अझै पनि यो चलनको अवशेषका रूपमा कटुवाल लगाउनु परेमा अर्गल माध्यमिक विद्यालय नजिकैको ठूलो ढुंगामा पुगेर कराउने चलन बाँकी छ । उक्त मुखिया प्रथाको समयमा चलेको भेला हुने स्थानलाई अर्गली मगर भाषामा ‘जोम्तो’ भनिन्थ्यो । त्यही जोम्तो शब्दबाट ताराखोला गाउँपालिका–२ मा ‘जोम्तो घर’को चलन चल्दै आएको छ ।

जोम्तोघरलाई यहाँका स्थानीयले जोगाएर पुस्तकालय र ऐतिहासिक स्थलका रूपमा विकास गरेका छन् । गाउँका मुखियाले ठूलो ढुंगामा बसेर न्याय निसाफ गर्ने गरेकामा अहिले त्यो चलन हराएपछि सोही स्थानमा जोम्तो किताबघर संचालनमा ल्याइएको जोम्तो किताब घर व्यवस्थापन समितिका अध्यक्ष अमृत घर्तीमगरले बताए ।

जोम्तो परम्परा सबै चल्ने अवस्था नभए पनि त्यसको महत्त्व र ऐतिहासिक दस्ताबेजहरू संकलन गर्न संरक्षणको प्रयास गरिएको घर्तीमगरले बताए । न्याय निसाफ गर्दा प्रयोग गरिएको बस्ने ठूलो ढुंगालाई सम्झेर अहिले भने घरसमेत बनाइएको हो ।

सयौं वर्षअघिदेखि चलेको जोम्तो संस्कृतिको सम्झनामा अहिले पनि यहाँ लाग्ने मेलाबारे यही ठूलो ढुंगामा बसेर कराउने, जानकारी दिने र छलफल गर्ने काम गरिने उनले जानकारी दिए । यो ढुंगाकै सम्झनामा दशकअघि जस्तापाता लगाएर बनाइएको छाप्रोमा बसेर अहिले पनि ती परम्परा स्मरण गरिन्छ । अहिले पनि उक्त स्थानमा बसेर कटुवाल लगाउने चलन बाँकी नै छ ।

ती परम्परालाई जोगाउन नसके पनि ऐतिहासिक सामग्रीहरू राख्ने गरी स्थानीयले आधुनिक ‘जोम्तो किताब घर’ बनाएका छन् । यो घरमा अहिले पनि केही परम्परागत र ऐतिहासिक पुस्तक संरक्षण गरिएका छन् । हाल निर्माणाधिन घरमा पनि पुस्तकालय राख्ने, छलफल गर्ने स्थल र ऐतिहासिक सामग्रीको संग्रह गर्ने लक्ष्य राखिएको छ । अहिले पनि अर्गलमा दर्जनौं मेला तथा जात्रा लाग्छन् ।

पाल्पाको अर्गलबाट आएर झाडी फाँडेर बसेको सम्झनामा उनीहरूको नाम अर्गली रहेको र त्यसकै सम्झनामा उनीहरूले भुसपोल्ने, छापो हाल्ने लगायतका मेला गर्दै आएका छन् । अध्ययन अनुसन्धानले पनि यो परम्परागत रूपमा भेला हुने स्थानको रूपमा रहेको मानवशास्त्री मनबहादुर खत्रीले बताए । समाज निर्माण कसरी भयो, उनीहरूका नीति नियम र परम्परा कसरी संरक्षित छन् भन्ने कुरा जोम्तोबाट पनि जान्न सकिने खत्रीको भनाइ छ । खत्री त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र मानवशास्त्र विभागका प्राध्यापक हुन् ।

यो भवन निर्माणका लागि गाउँपालिका र स्थानीयले चन्दासमेत संकलन गरेका छन् । ५० लाख रुपैयाँको जोहो भएपछि अस्थायी टहरोमा बसेको जोम्तो घरलाई यहाँ सार्ने गरी निर्माणको काम भइरहेको छ । ‘यो घर बनिसकेपछि पुस्तकालय मात्र होइन, कार्यालय र नियमित भेटघाटको स्थल पनि यहीं बनाइन्छ,’ घर्तीमगरले भने, ‘यसको इतिहास खोज्ने र उजागर गराउने काम सुरु भएको छ ।’

पाका पुरानाको साथ र सहयोग लिएर जोम्तोघरको इतिहास लेखन गर्ने उनले सुनाए । परम्परागत रूपमा चलेको जोम्तोघरलाई स्थानीय रूपमा दर्ता गरिएको छ । अमृत घर्तीमगर अध्यक्ष रहेको यो समितिमा यामबहादुर घर्तीमगर सचिव छन् । उनले पनि खोजी अभियानमा साथ दिएका छन् । यहाँ घर्तीमगर, नाइसा मगर, पुलिसा मगर र रोका मगर लगायत बसोबास गर्छन् ।

उनीहरूले परम्परागत रूपमा बोल्ने गरेका मगर भाषा संरक्षण गर्ने, युवा पुस्तालाई भाषा र संस्कृति सिकाउने योजना पनि बनाइएको छ । पछिल्लो समय अर्गल माविमा पढ्ने बालबालिकालाई समेत मगर संस्कृतिका सोरठी, सालैज्यो लगायतका लोकगीत गाउन र बाजा बजाउन सिकाइएको छ । उनीहरूलाई भाषा पनि सिकाएर इतिहासबारे जानकारी दिने लक्ष्य राखिएको हो ।

यो घर विवाद मिलाउने घरका रूपमा पनि विकास गर्ने लक्ष्य छ । गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति रहेझै यहाँ पनि मेलमिलाप गराउने, न्याय दिने कामको थालनी गर्ने स्थानीयको भनाइ छ । त्यसका लागि पनि यो घर विशेष महत्त्वको हुने घर्तीले जानकारी दिए । 

चार वर्षअघि दर्ता गरेर संचालनमा आएको यो घरलाई वैधानिक बनाउने र समाजमा त्यसको सकारात्मक प्रभाव लैजाने लक्ष्यसहितको नीति र विधान बनाइएको छ । यो विधानले इतिहास संरक्षणको काम गर्ने लक्ष्य राखेको हो । ताराखोला जनयुद्धको आधार क्षेत्र पनि हो । यहाँबाट सशस्त्र द्वन्द्वको समयमा २६ जना सहिद भएका थिए । केही बेपत्ता पनि छन् । उनीहरूको स्मृति राख्ने स्थानका रूपमा पनि यो घर उपयोग गरिने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै