बागलुङमा ७० प्रतिशत मात्रै कर संकलन
बागलुङ । आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । १ अर्ब ८३ करोड ८७ लाख लक्ष्य राखेकामा असार मसान्तसम्ममा १ अर्ब २९ करोड ३७ हजार मात्रै कर संकलन भएको हो । यो ७० दशमलव ४५ प्रतिशत मात्रै हो ।
पर्वतस्थित करदाता सेवा कार्यालय पनि बागलुङमा गाभिएपछि गत वर्षको फागुनपछि १ अर्ब ४६ करोडबाट बढेर १ अर्ब ८३ करोड ८७ लाख रुपैयाँको लक्ष्य पुगेको थियो । तर लक्ष्यअनुसारको काममा प्रगति नभएको प्रमुख कर अधिकृत कपिल सिलवालले बताए । कार्यालयले अन्तशुल्कतर्फ भने ९६ प्रतिशत लक्ष्य प्राप्ति गरेको छ ।
कुल ७ करोड ३२ लाखको लक्ष्यमा असार मसान्तसम्म ७ करोड ९ लाख कर संकलन गरेको थियो । त्यसबाहेक मूल्य अभिवृद्धि करमा ६८ प्रतिशत प्रगति गरेको छ । लक्ष्य ५० करोड ६४ लाख राखिएकामा असार मसान्तसम्ममा ३४ करोड ७७ लाख कर संकलन गरेको थियो । आयकरमा पनि लक्ष्यभन्दा कम अर्थात् ७२ प्रतिशत मात्रै कर संकलन भएको छ ।
१ अर्ब ४ करोड ५४ लाख लक्ष्यमा ७५ करोड ७० लाख रुपैयाँ मात्रै संकलन भएको हो । बहालकर ८१ प्रतिशत र व्याजकर ४५ प्रतिशत मात्रै संकलन भएको छ । बहालकरतर्फ २ करोड ५० लाखको लक्ष्यमा असार मसान्तसम्ममा २ करोड ४ लाख ५० हजार रुपैयाँ मात्रै संकलन भएको हो ।
नेपाल सरकारले ल्याएको आर्थिक विधेयक २०८३ र विभिन्न समयमा ल्याएको कर छुटको कार्यक्रमले पनि नियमित करदाता समेत प्रभावित भएका छन् । कर छुट पाउने आसले करदाताले कर तिर्न ढिलाइ गरेको समेत सिलवालले बताए । हालै आएको आर्थिक विधेयकमा आयकरको व्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था गरेको छ ।
असार मसान्तभित्र तिर्ने कतिपय कसरको समय पुस मसान्तसम्म थपिएकाले ग्राहकले ढिलासम्म तिर्न सक्ने उनले अनुमान गरेका छन् । साथै जेन-जी आन्दोलनपछि धेरै व्यावसायिक क्रियाकलाप कम भएको, सहकारीहको कारोबार नै ठप्प भएकोले ब्याजकर प्राप्त नभएको र केही ठूला उद्योग माथिल्लो तहको कार्यालयमा कर तिर्न गएाकाले यहाँको लक्ष्य कम भएको समेत उनले बताए ।
पछिल्लो समय ठूलो कारोबार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठूलो कार्यालयमा तिर्न थालेका छन् । यो क्रमले कर संकलनमा कमी अंक देखिएको सूचना अधिकारी राजनमणि शर्माले जानकारी दिए । उनका अनुसार आयकारमा साना व्यवसायीलाई छुटको स्किम दिँदा अघिल्लो वर्ष कर संकलन बढी भएको थियो । यो वर्ष त्यो स्किम नभएर केही व्यवसायी कर तिर्न ढिला गरिरहेका छन् ।
सरकारले हालै ल्याएको आर्थिक विधेयक २०८३ ले करको दायरा बढाउने र नयाँ कर राजस्वको प्रावधान सुरुवात गर्न विभिन्न करमा छुट दिएको छ । सोहीअनुसार आन्तरिक राजस्व कार्यालय बागलुङले पनि केही शीर्षकमार्फत राजस्व छुटको व्यवस्था गरेको छ । विधेयकको दफा ४० अनुसार आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था छ ।
यो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आयआर्जन गरी आयकर दाखिला नगरेको भए त्यस्तो व्यक्तिले स्थानीय लेखानम्बर लिएर २०७९/०८० दखि २०८२/०८३ सम्मको आय विवरण २०८३ पुस मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा गरिदिने उल्लेखे छ ।
स्थायी लेखा नम्बर भएकाको हकमा पनि आयआर्जन वा कारोबार नगरेका करदाताले २०८१/०८२ भन्दा अघिदेखि नै आय विवरण दाखिला नगरेको भए पनि त्यस्तो व्यक्तिले दर्ता खारेज गर्न वा कारोबार पुन: सक्रिय बनाउन चाहेमा आगामी पुस मसान्तभित्र दर्ता खारेजीका लागि निवेदन दिएमा सोभन्दा अघिका कर तिर्न नपर्ने प्रावधानसमेत राखेको छ ।


प्रतिकृया दिनुहोस