ताजा अपडेट

समचार

राणाले ४० प्रतिशत पुर्याउन नसकेपछि निर्वाचन आयोगले दियो भदौ ४ गतेको समयसीमा

Krishna Pokharel

काठमाडौं, ३० साउन– 

पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्यहरुको सनाखत गराउन नसकेपछि निर्वाचन आयोगले नै दल विभाजनका लागि म्याद थपिदिएको छ । दल विभाजन गर्दाकै बखत विभाजन गर्न चाहनेल ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधान भए पनि आयोगले तोकेको समयभित्र राणाले ४० प्रतिशत पुर्याउन नसकेपछि भदौ ४ गतेसम्म संख्या पुर्याउने समय दिएको हो । 

 

राप्रपाबाट विभाजित भइ गठन भएको प्रस्तावित राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले आइतबारसम्म ४० प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षर आयोगमा सनाखत गराउन सक्नु भएको थिएन । पार्टी विभाजनका लागि आवश्यक संख्या आयोगमा दाखिल गर्न नसकेपछि राणाले हस्ताक्षर सनाखत गर्ने समय थप गर्न माग गर्नु भएको थियो । राणाको माग अनुरुप निर्वाचन आयोगले भदौ ४ गतेको समयसीमा तोकेको हो । 

 

राप्रपा अध्यक्ष कमल थापाले राणाले दल विभाजनका लागि निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर नक्कली भएको वताउनु भएको थियो । राणा समूहले गत साउन २२ गते पार्टी विभाजनका लागि सांसद तथा केन्द्रीय सदस्य रहेको दाबी गर्दै आयोगमा हस्ताक्षर बुझाएको थियो ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजनको घोषणा गरेको उक्त पार्टीले ४० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पुष्टी गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही नियमअनुसार आयोगले राप्रपा (प्रजातान्त्रिक) का नेतालाई हस्ताक्षर सनाखत गर्न दिएको समयमा नसकेकाले सोमबार गोरखिपत्रमा सूचना प्रकाशित गरेर ४ गते १० बजेदेखि ५ बजेसम्मको समयसीमा दिएको हो। आयोगले भदौ ४ गतेसम्मको समयसीमा दिएपछि राणा केन्द्रीय सदस्यहरुलाई विभाजनका पक्षमा निर्वाचन आयोग गएर हस्ताक्षर गर्न आग्रह गरिरहनु भएको छ । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आयोगको समयसीमाभित्र राणा समूहले हस्ताक्षर सनाखत गर्न नसकेका कारण पार्टी विभाजन प्रक्रिया अगाडि नबढाउन निवेदन दर्ता गराएको छ । पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले सो निवेदन दर्ता गराएको हो।

 
  • ON-AIR

    Time:: am

  • UP-NEXT

    नेपाल खबर

    Time:6:00 pm

Top