समचार

गीता हत्या काण्डका अभियुक्त बलामी पुर्पक्षका लागी थुनामा, पुन रु ५ हजार धरौटीमा रिहा

Krishna Pokharel

बागलुङ २०७४ साउन २९ । 

बागलुङ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासबाट, हत्यागरी बडीगाड खोलामा फालिएकी गुल्मीकी गीता नेपालीका अभियुक्तहरु मध्य बडीगाड गाउपालिका-२ सक्न्यारका १८ वर्षिय हिरा बलामी मगरलाई पुर्पक्षका थुनामा र अर्का अभियुक्त बडीगाड गाउँपालिका वडा नं ५ ग्वालिचौरको न्वारमा डेरा गरी बस्ने नरेश पुनलाई रु ५ हजार धरौटीमा छोड्ने आदेश भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बागलुङको अनुसन्धानपछी जिल्ला सरकारी वकिल कार्यालय बागलुङले तीन दिन पहिले अभियुक्त हिरा बलामी मगरलाई मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १३ (३) बमोजिम सर्वस्व सहित जन्म कैद र अर्का अभियुक्त नरेश पुनलाई सोही महलको १७ (३) बमोजिमा सजायँको मागदावी गर्दै जिल्ला अदालत बागलुङमा अभियोग पत्र पेस गरेको थियो । आज थुन छेकको बहस सकिएपछी न्यायाधीश बेलबासेको इजलासबाट यस्तो आदेश भएको हो ।

 

स्मरणीयछ, गत साउन २६ गते विहान मृतक गीता नेपालीको शव बडीगाड गाउपालिका खर्वाङ बजार नजिकै बडीगाड खोलामा फेला परेको थियो । प्रहरीले अभियुक्तहरु बलामीमगर र पुनलाई पक्राउ गरि घटनाको अनुसन्धान सुरु गरेको थियो ।

 

प्रहरी श्रोतका अनुसार घटनाको दिन राति (हत्यापूर्व) अभियुक्त बलामीमगर, मृतक गीता नेपाली, निजकी भाउजु सीता नेपाली र नरेश पुन सहितले न्वारको एक होटेलमा मदिरा सेवन गरेका थिए । भाउजू सीता भने केहि पहिले नै निस्केर गएकी थिईन् । मदिरा सेवन गरिरहँदा मृतक गीताले बलामीलाई बिबाह गर्न दबाब दिईरहेको, त्यस राति पनि विबाह नगरे प्रहरीमा उजुरी दिन्छु भने पछी उनिबाट छुट्कारा पाउन हत्या गरी निर्माणाधीन मोटरेबल पुलबाट लब्दीखोलामा खसाली खोलैखोला शवलाई बडीगाड खोलामा पुराई बगाई दिएको अभियुक्तले स्वीकार गरेका छन् ।

 

मृतक ३५ वर्षिया गीता नेपाली गुल्मी जिल्ला साविक दोहली गाविस हाल ईस्मा गाउपालिका वडा नं २ का धनबहादुर नेपाली संग विवाह भै पतिसंग बिमेल भएपछी माईती घर मुसिकोट नगरपालिका १ पौँदी अमराई आएर छाप्रो बनाई चार बालबच्चा सहित बस्दै आएकी थिईन् ।

 

पछिल्लो समय मृतक नेपाली लब्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न आउने गरेकी थिईन् । सोही क्रममा गीताको पुलमा कामगर्ने अभियुक्त बलामी मगरसंग प्रेम सम्वन्ध रहि विगत लामो समय देखी शारीरिक सम्वन्द्ध हुदै आएको थियो ।

 
Top