• १४ बैशाख २०८१, शुक्रबार
  • ०९:०६:०१

Now: नेपाल खवर

Next: बस्तीका सुसेली

सुत्केरी हवाई उद्धार कार्यक्रम : दुरदराजका सुत्केरीहरुले ज्यान गुमाउनु पर्ने बाध्यता टर्याे

फाइल फाेटाे

बागलुङ । माघ २२ गते निसीखोला गाउँपालिका वडा नम्बर ४ खोरेनीकी २६ वर्षीया कुमारी घर्तीलाई सुत्केरी व्यथा लाग्यो । घरमै सुत्केरी हुने अवस्था नदेखिए पछि प्रसूति गराउन ढोरपाटन स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । त्यहाँ पनि सहज प्रसूति हुने अवस्था रहेन ।

घर्तीको पाठेघर भन्दा बाहिर बच्चा रहेका कारण अप्रेशन गर्न जोखिम भए पछि पोखरा रेफर गरिएको स्वास्थ्यकर्मी बताउँछन् । तत्काल जटिल अप्रेशन गर्नुपर्ने भए पछि आमा र बच्चाको ज्यान बनाउन गण्डकी प्रदेश सरकारको गर्भवती उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट पोखरा पु¥याएर अप्रेशन गरियो ।

माघ २४ गते शनिबार, बडिगाड गाउँपालिका–५ धैरेनीकि २४ वर्षीया गर्भवती शान्ता घिमिरेको अत्याधिक रक्तश्राव भयो । तत्काल सुत्केरी नगराएमा गर्भवती र शिशु दुवैको ज्यान जोखिममा देखियो । तत्काल स्थानीय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको पहलमा हेलिकप्टरबाट उद्धार गरि पोखरा लगेर प्रसूति गराइयो ।

यी त केबल प्रतिनिधि विषय मात्रै हुन् । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यक्रम ल्याए पछि जिल्लाका दुरदराजका गर्भवती सुत्केरीहरुले जोखिममै ज्यान गुमाउनु पर्ने बाध्यता टरेको छ । यसवर्ष मात्रै दर्जन बढी जटिल प्रकृतिका गर्भवति तथा सुत्केरीको हवाई मार्फत उद्धार तथा उपचार गरिएको छ ।

पहिलो गर्भवती सुत्केरीको अवस्था जटिल हुँदा हवाई सेवा महंगो भएकाले प्रयोग गर्न असमर्थ भएर ज्यान गुमाउनु पर्ने बिवशता अहिले नरहेको बडिगाड गाउँपालिका वडा नम्वर ८ का स्वंयम्सेविका चन्द्रकला काउचा बताउनुहुन्छ । ‘यो धेरै राम्रो कार्यक्रम सरकारले ल्यायो, नत्र यही क्षेत्रकै कति गर्भवती सुत्केरी महिलाले समयमै उद्धार, उपचार र अप्रेशन हुन नसकेर ज्यान जान्थ्यो,’ स्वयंम्सेविका काउचाले भन्नुभयो, ‘यो कार्यक्रम महिलाका लागि बरदान सावित भएको छ, यसका लागि सरकार धन्यवादको पात्र छ ।’

अझै पनि गाउँघरमा स्वास्थ्य चौकी टाढा, सचेतनाको अभाव भएको, गर्भ अवस्थामा यथेष्ट ख्याल नगर्दा प्रसूतिमा जटिलता हुने गरेको उहाँको भनाई छ । सानै उमेरमा विहे गर्ने, बच्चा जन्माउने समस्या बढी रहेको र आफूहरुले सम्झाउने, बुझाउने कोशिस गरे पनि बेवास्ता गरेको काउँचा बताउनुहुन्छ ।

बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक चुडामणी कंडेलले धेरैजसो घरमै सुत्केरी गराउँदा शिशुको मृत्यु हुने, मातृ तथा शिशुको स्वास्थ्यमा गम्भीर समस्या आउने अवस्थामा मात्र हेलिबाट उद्धार गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार जिल्लाको सबै भन्दा बढी शिशु मृत्युदर बडिगाडमा रहेको देखिएको छ । पालिकाले शिशु मृत्युदरको बारेमा एकिन तथ्याङ्क संकलनको प्रक्रिया समेत सुरु गरिसकेको छ ।

‘जटिल खालका समस्या स्वास्थ्य चौकीहरुमा धेरै आउँछन् । साउन देखि यता मात्रै बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाको पहलमा ५ जना गर्भवतीको हेलि मार्फत उद्धार गरेका छौ,’ कंडेलले भन्नुभयो, ‘बडिगाडको स्वास्थ्य चौकीमा आउनका लागि ३ दिन सम्म लाग्ने गाउँहरु अझै छन्, समयमा स्वास्थ्य चौकी आउन सक्दैनन् । चेतनाको कमी र गरिबीकै कारणले वर्षैपिच्छे बच्चा जन्माउने समस्या पनि धेरै छ ।’ नेपाल सरकारले सामाजिक विकास मन्त्रालयले ल्याएको हवाई उद्धार कार्यक्रमले दुर्गमका गर्भवती सुत्केरी महिलालाई ठूलो राहत मिलेको उहाँकाो भनाई छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमूख डा.मिलन मल्लले स्वास्थ्य केन्द्रमा दिनहुँ गर्भवती महिलाको प्रसूति गराइरहेको बताउनुभयो । तर, जटिल अवस्थाका गर्भवतीलाई प्रसूति गराउन प्रयाप्त उपकरण र सुविधा नभएकाले ठूलो जोखिम भएकालाई रेफर गर्ने गरिएको डा.मल्लको भनाई छ । एक वर्षको अवधीमा ८ देखि १० जना महिलालाई हेलिबाट उद्धार गरिएको मल्लले बताउनुभयो । गर्भवति महिला स्वयम् र परिवारमा चेतनाको कमी देखिन्छ । यहाँका महिलाहरुले १३, १४ वर्षको उमेरमा समेत विवाह गर्ने गर्दछन् । यसको कारण गर्भ अवस्थामा स्वास्थ्यमा समस्या आउने, आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने डा.मल्ल बताउनुहुन्छ ।

गर्भ रहे पछि नियमित चेकजाँच,सुझाब सल्लाहा दिदा पनि उहाँहरुले हेलचक्राई गरेको महशुस गरेको मल्ला बताउनु हुन्छ । तर, धेरै जसो गर्भवती अन्तीम समयमा अस्पताल आएको पाईन्छ । आफुमा भएको समस्या खुलेर भन्न नसक्नुले स्वास्थ्यमा समस्या आउनु मुख्य कारण रहेको मल्ल बताउनु हुन्छ । ‘स्वास्थ्य केन्द्रमा चार वटा पालिकाका नागरिक चेक जाँचका लागि आउनु हुन्छ, यो क्षेत्रमा भौगोलिक विकटता छ’ मल्लले भन्नुभयो,‘यातायातको समस्या, आर्थिक समस्या हुने भएकाले गर्भवती आउन समय लाग्छ, जटिल भएपछि मात्र स्वास्थ्य केन्द्रमा उपचारका लागि गर्भवती आउनु हुन्छ । स्वास्थ्य केन्द्रमा प्रयाप्त मात्रमा स्रोत साधन नहुनु र रिफर गर्नुपर्ने हाम्रो बाध्यता हो ।’

रेफर गर्दा पनि जिल्लाकै धौलागिरी अस्पतालमा छिटो हुने भए पनि रिफर गर्नका लागि बिरामी र तीनका आफन्त स्वयम्ले नमान्ने गरेकाले पोखरा काठमाण्डौं रेफर गर्ने गरेको डा.मल्लको भनाई छ । खासगरी गर्भवतीलाई जटिल अवस्थामा पुग्न नदिन परिवार र स्वयंम् महिलाले आफने स्वास्थ्यलाई ख्याल गर्नु पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

दुर्गमका महिलाहरुले सानै उमेरमा विवाह गर्ने भएकाले २० वर्ष पछि विवाह गरेमा गर्भवती महिलालाई प्रसूतिको समयमा आउने समस्या ९० प्रतिशत कम हुने डा.मल्लले बताउनुभयो । बच्चा जन्माउने समयमा पहिलो बच्चा पछि दोस्रो बच्चा जन्माउने समयमा ३ देखि ४ वर्षको अन्तर राख्ने, गर्भवतीले नियमित चेकअप गराउने, खानेकुरामा ध्यान दिने, उमेर पुगेपछि मात्र बच्चा जन्माउने र विशेषतः परिवारले गर्भवतीको राम्रो हेरचाह गरेमा गर्भ अवस्था र प्रसूतिमा समस्या कम आउने मल्लले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै