• १६ बैशाख २०८१, आइतबार
  • १९:०८:४३

Now: सारथी हालचाल

Next: सन्देश/पिएसए

३ दिनमा गलकोटका १८ घरमा तोडफोड र चोरी, प्रहरी भन्छ-अनुसन्धान जारी छ

बागलुङ । जिल्लाको गलकोटमा दैनिकजसो तोडफोड र चोरीका घटना हुन थालेको छ । पछिल्लो तीन दिनमा गलकोट नगरपालिकाका १८ घरमा तोडफोड र चोरी भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर १, २ र ५ का विभिन्न बस्तीका घरहरुमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेको घर सहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्खानीमा चोरी भएको थियो ।

नगर प्रमुख गैरेको घरबाट १० हजार नगद, जन्तर, औँठी समेत चोरी भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो । गाउँको प्रायजसो मानिसहरु अहिले नबस्ने खाली घरहरुमा तोडफोड र चोरी भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ५ का रमेश थापाको घरबाट आइतबार राति ४० हजार रुपैयाँ चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताउँनुहुन्छ । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

आइतबार राति नै वडा नम्बर ५ हरिचौर स्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित ८ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसके पछि त्यहाँबाट भागेको सिसी क्यामेरको फुटेजमा देखिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

आइतबार राती १ बजेर ३५ मिनेटदेखि २ बजेको बीचमा तोडफोड गर्न थालेको अध्यक्ष खत्रीले बताउनुभयो । सहकारीको सिसी टिभीको फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेकोे उहाँको भनाई छ । खत्रीले प्रहरी चौकीकै नजिक दैनिकजसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गर्नुभयो ।

‘यसरी प्रत्येक दिन घरहरु तोडफोड भएका छन्, चोरी भएका छन्, गाउँमा त भयो भयो, प्रहरी चौकी नजिकै पनि यस्तो घटना भइराख्नु गम्भीर विषय हो,’ उहाँले धौलागिरी जागरण दैनिकसँग भन्नुभयो ‘सुरक्षा निकायको कमजोरी भएकै कारण चोरहरु सलबलाएका हुन्, सुरक्षा निकाय चनाखो भएन भने यस्ता घटना अझ बढ्नेछ ।’

दिनप्रति दिन श्रृखलाबद्ध रुपमा चोरी तथा घर तोडफोड हुँदा स्थानीयहरु त्रसित बनेका छन् । सुरक्षा निकायले नागरिकको सुरक्षा दिन नसकेको स्थानीयको गुनासो छ । पछिल्लो समय दैनिक रुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविक रुपमा उठेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख मल्ल बताउनुहुन्छ । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानी समेत बढाएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । आदर्श अनलाइन

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै